arrow

गत चुनावमा प्रदेशमा जोसँग हारे बदला लिन उनैसँग भिड्दै छन् बजगाई प्रतिनिधि सभामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
rajendra-bajgai-ramsharan-basnet-.jpg

गोरखा । गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईंसहित १० जना उम्मेदवार छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने बस्नेत र बजगाईंबीच हुने देखिन्छ । 

बस्नेत २०४९ र २०५४ गरी दुईपटकसम्म तत्कालीन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भइसके । २०७४ को निर्वाचनमा गोरखा १ प्रदेशसभा (ख) बाट कांग्रेसका बजगाईंलाई नै हराउँदै उनी सांसद बनेका थिए । 

२०३५ देखि कम्युनिष्ट आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए । यद्यपि बजगाईं भने नेपाली कांग्रेसभित्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित छन् । पर्यटन व्यवसायमा बजगाईं अन्तर्राष्ट्रियस्तरमै चिरपरिचित व्यक्ति हुन् । 

अघिल्लो निर्वाचनमा जोसँग हारे उसैसँग प्रतिस्पर्धाका निम्ति बजगाईं सत्तारुढ गठबन्धनको तर्फबाट मैदानमा उत्रिने पक्का भएको छ । २०७४ को चुनावमा गोरखा १ (ख) को प्रदेश सभा सदस्यमा एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार एक मत पाएका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच वाम एकता थियो । 

यसपटक भने एमालेलाई माओवादीको साथ छैन । सत्तारुढ गठबन्धन भएकाले यसपालि बस्नेतलाई हराउने कुरामा बजगाईं आशावादी छन् । गत ३० बैशाखको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा गोरखामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, नेसपा चौथो दलको रूपमा स्थापित छन् ।

अन्य दलहरूको भने जनमत गोरखामा कम नै देखिन्छ । यसपटक सत्तारुढ गठबन्धनका कारण एमाले प्रमुख शक्तिहरुको विरुद्ध, राप्रपा, जसपा लगायतका साना दलहरूसँगको तालमेलमा निर्वाचन लड्दैछ । 

गोरखामा एमालेले तालमेल गरेको दलहरूले निर्वाचन प्रभावित बनाउने खालको मत ल्याउन सक्ने स्थिति तत्काल देखिँदैन । गोरखा १ मा एक लाख १५ हजार ३९७ मतदाता छन् ।
  
अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपि अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहना, गठबन्धनप्रतिको वितृष्णा र एमालेले गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ