arrow

दार्चुलामा तीन उम्मेदवारी फिर्ता, १८ उम्मेदवार प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
darchula-election.jpg

दार्चुला । दार्चुला जिल्लामा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर १ र २ मा ६/६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

तर, अहिले प्रदेश सभा क्षेत्र नम्बर १ बाट कांग्रेस वीपीका राजेन्द्रप्रसाद बडू र प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका वीरबहादुर ठगुन्नाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार बहादुर सिंह धामीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

अब प्रदेश सभा क्षेत्र नम्बर १ मा ५ जना र क्षेत्र नम्बर २ मा ४ जना मंसिर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । एउटा मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट उम्मेदवारी दिएका नौ जनामा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

प्रदेश र प्रतिनिधिसभामा गरी दार्चुलामा २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेकोमा तीन जनाले फिर्ता लिएपछि अब १८ जना मात्रै चुनावी मैदानमा रहेका छन् ।

दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभा क्षेत्र (क) मा नेकपा एमालेको तर्फबाट हरदेव जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेश सभा क्षेत्र (ख) मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।

आजसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने समय रहेकोमा दार्चुलाबाट प्रदेश सभातर्फका तीन जनाको मात्रै उम्मेदवारी फिर्ता भएको र १८ जना चुनावी मैदानमै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ