arrow

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौँ। निर्वाचन आचारसंहिता, २०७९ उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लङ्घन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल बस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराम घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा आयोगले स्पष्टीकरण सोधेको सहायक प्रवक्ता भट्टराईको भनाइ छ ।

यसै गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितो पत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले बताए।



नयाँ