arrow

ओलीलाई हराउन यस्तो छ रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
kp-oli-uml-election-2079.jpg
फाइल तस्बिर

काठमाडौँ। झापा-५ मा उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नका लागि स्वतन्त्र उम्मेदवारहरू लागिरहेका छन्। झापामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच भए पनि स्वतन्त्र उम्मेदवारहरूले पाउने मत नै निर्णायक मानिन्छ।

राप्रपाले पनि स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउन सत्ता गठबन्धनको सहयोगमा ओलीको नगरपालिका दमकमा जित हात पारेकाले खुलेर ओलीको पक्षमा लाग्न सक्ने अवस्था छैन। एमालेले गरेको असहयोग राप्रपाका लागि अझै ताजै रहेको स्थानीयहरू बत्ताउँछन्। 

झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई असहयोग गर्ने एमालेको रणनीतिका कारण झापा-५ मा राप्रपाले पनि एमालेलाई पूर्ण रूपमा सहयोग गर्ने स्थिति बनेको छैन। राप्रपासँग तालमेल गर्ने पार्टी निर्णयविरुद्ध एमाले जिल्ला सचिवालय सदस्य डम्बर गिरीले झापा-३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका कारण झापा-५ मा राप्रपाले पनि ओलीलाई सहयोग नगर्ने स्थितिमा पुगेको छ। 

झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार दीपककुमार (युग) पाठकले पनि चुनौती दिने ठानिएको छ। लेखक एवं सामाजिक अभियन्तासमेत रहेका पाठक ओलीका चर्का आलोचक हुन्। पाठक आफू चुनाव जित्नेमा भन्दा ओलीलाई हराउनुपर्छ भन्ने ‘क्याम्पेनिङ’ मा बढी लागेका छन्। जसले गर्दा ओलीलाई चुनाव जित्न थप चुनौती दिएको छ। 

काठमाडौँ बस्ने पाठक ओलीविरुद्ध चुनाव लड्नकै लागि महिना दिनअघि नै दमक झरेका हुन्। एमाले अध्यक्षप्रति उनको आरोप छ, ‘ओलीका कारण राजनीतिमा युवापुस्ताको वितृष्णा बढेको छ, ओली खराब राजनीति गर्छन्, त्यसैले उनको राजनीतिमाथि हस्तक्षेप गर्न मैले उम्मेदवारी दिएको हुँ।’

यता सत्ता गठबन्धनका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी भने स्वतन्त्र उम्मेदवारले एमालेको मत काट्ने र राप्रपाले आफूलाई सहयोग गर्ने भएका कारण ओलीको पराजय निश्चित भएको बताएका छन्। यस पटक ‌ओलीलाई आफ्नै नेता–कार्यकर्ताको पनि भर लाग्न छोडेको छ। 

एमालेले झापामा राप्रपासँग गरेको तालमेलअनुसार ५ नम्बरमा राप्रपाका उम्मेदवार छैनन्। गठबन्धनबाट काँग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। अधिकारी २०७४ को चुनावमा ओलीसँग पराजित भएका थिए। अघिल्लो पटक वाम गठबन्धनका कमान्डरसमेत रहेका ओलीलाई चुनाव जिताउन राप्रपाले पनि सहयोग गरेको थियो। त्यस बेला काँग्रेस एक्लै चुनाव लडेको थियो।
 
६ महिनाअघि स्थानीय चुनावमा राप्रपाले सत्ता गठबन्धनको सहयोगमा दमकको नगरप्रमुख जितेको थियो। नगरप्रमुख दिँदै गर्दा गठबन्धनका नेताले राप्रपाका प्रदेश अध्यक्ष थापालाई मङ्सिरको चुनावसम्म सघाउनुपर्छ भन्दै ‘कसम’ खुवाएका कारण पनि समस्या भएको हो। 

प्रमुख–उपप्रमुख नभए पनि दमक नगरपालिकामा बहुमत एमालेको छ। बहुमत भएकै कारण एमालेले असारमा नगरपालिकाको बजेट पारित गर्ने क्रममा अड्को थापेको थियो। एमालेको अवरोधका कारण थापाले असार मसान्तमा बजेट पारित गर्न सकेनन्। करिब महिना दिनको उल्झनपछि नगरपालिकाको बजेट त पारित भयो तर थापा र एमालेको सम्बन्ध सुध्रन सकेन।

तीन दशक एकछत्र नेतृत्व गरेको दमक नगरपालिकाको प्रमुख–उपप्रमुख गुमाएपछि एमाले दबाबमा छ। दमकको प्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा काङ्ग्रेसकी रेगिना प्रसाईँ निर्वाचित भएका छन्। क्षेत्रभित्रको कमल र गौरी गन्ज गाउँपालिकाको प्रमुख पनि काँग्रेसले जितेको छ। चार वटा पालिका रहेको झापा ५ मा गौरादह नगरपालिकामा मात्र एमालेको नेतृत्व छ। यस कारण सबै चुनाव नतिजाको अङ्कगणित र धरातलीय अवस्थालाई हेरेर ओलीलाई यस पटकको जित फलामे चिउरा चपाउनुजस्तै बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ