arrow

डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
dengue--ji-ha.jpeg

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगी रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।

सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगीको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । 

वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
 
विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगीको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

 यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगी नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेंगी नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ ।
 
यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । 

घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगीको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् । 



नयाँ