- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।
आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् ।
चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका हुन् । मतदातासामु भए गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम चलिरहेको छ ।
नेकपा (एमाले)ले गत आइतबार बागलुङ नगरपालिका-१२ देखि सुरु गरेको घरदैलो कार्यक्रम शनिबार वडा नं ७ मा पुगेको छ । घरदैलो र भेटघाटमा एमालेबाट बागलुङ-१ का प्रतिनिधिसधा र प्रदेशसभा सदस्य उम्मेदवारसँगै पार्टीका नेता, कार्यकर्ता छन् ।
मतदाता रिझाउन एमालेले आकर्षक नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘महिलाहरूसँग हाम्रो बाचा : सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी’, भूमिहीनसँग हाम्रो सङ्कल्प : सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्जा’लगायत आदर्श वाक्य प्रतिबद्धतापत्रमा समेटिएको छ ।
एमालेका जिल्ला सचिव विष्णु भुसालले गाउँघरमा चुनावी रौनक सुरु भएको बताए । “घरदैलो गर्दा मतदाताका समस्या र माग सुन्ने, उम्मेदवारले मत माग्ने, प्रतिबद्धता जनाउने काम हुन्छ”, उनले भने, “तिहारको तीन दिनबाहेक अरु बेला चुनावी कार्यक्रम निरन्तर हुन्छ, १७ गतेपछि प्रचार-प्रसारलाई व्यापाक बनाउँछौँ ।”
एमालेले शनिबार बागलुङ-२ को तमानखोला गाउँपालिकामा मुख्य कार्यक्रम केन्द्रित गरेको छ । सो निर्वाचन क्षेत्रको प्रदेश (क) अन्तर्गत बडिगाड गाउँपालिका-२ सिसाखानीमा घरदैलो अभियान चलिरहेको सचिव भुसासले जानकारी दिनुभयो । आइतबारदेखि गलकोट नगरपालिकामा घरदैलो कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।
सत्तारुढ गठबन्धनले पनि चुनावी अभियानलाई तीव्र पारेको छ । घरदैलो, भेटघाट र अन्तक्र्रियामार्फत गठबन्धन दल र तिनका उम्मेदवार मतदाताकहाँ पुगिरहेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजीव घिमिरेले घरदैलोसँगै अन्तक्र्रिया र प्रशिक्षण कार्यक्रम भइरहेको बताए ।
उनका अनुसार शनिबारदेखि बागलुङ-२ को बडिगाड गाउँपालिकामा गठबन्धनको चुनावी अभियान सुरु भएको छ । “हरेक निर्वाचन क्षेत्रका चुनाव परिचालनको छुट्टाछुट्टै कार्ययोजना छ, सोहीअनुसार कार्यक्रम भइरहेको छ”, संयोजक घिमिरेले भने, “वडा तहसम्मै निर्वाचन सम्पर्क कार्यालय खोल्ने काम पनि सँगसँगै भइरहेको छ ।”
उनले निर्वाचन आचारसहिंताअनुसार नै गठबन्धनले आफ्नो चुनावी प्रचार-प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने बताए । चुनावी रापतापले साना राजनीतिक दललाई पनि उत्तिकै छोएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गलकोट, बुर्तिबाङ हुँदै निसीखोलासम्मलाई जोडेर चुनावी अभियान थालेको छ ।
सो पार्टीका जिल्ला सभापति गणेश पौडेलले आफ्ना उम्मेदवारको पक्षमा मत माग्न शनिबार गलकोट आइपुगेको बताए । “सङ्घतर्फ दुई र समानुपातिकबाट एक गरी जिल्लाभर हाम्रो पार्टीबाट तीन जना उम्मेदवार छन्, उनहरुको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छौँ”, सभापति पौडेलले भने ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट ३१ उम्मेदवार चुनावी मैदानमा छन् । दलका शीर्षनेतादेखि नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवार चुनावी मैदानमा छन् । बागलुङ-१ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक मुख्य प्रतिस्पर्धा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (विपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि बागलुङ-१ को उम्मेदवार छन् । बागलुङ-१ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावमा होमिएका छन् ।
बागलुङ-१ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राप्रपाबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा चुनाव लड्दै छन् । बागलुङ-२ मा गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलका विरुद्ध एमालेबाट मञ्जु शर्मा चालिसे चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्की पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् ।
बागलुङ- २ (क) मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच प्रतिस्पर्धा हुँदैछ । बागलुङ-२ (ख) मा गठबन्धनबाट कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती चुनावी मैदानमा छन् ।