arrow

दार्चुलाका उम्मेदवार भोट माग्दै खेतबारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
umedar-darchula.JPG
तस्बिर : प्रदेश सभा उम्मेदवार मान बहादुर धामी किसानलाई सघाउँदै

दार्चुला । यति बेला किसानहरूलाई खेतीपाती भित्र्याउने चटारो छ । बिहानदेखि बेलुकीसम्म किसानहरू खेतबारीमा भेटिने गरेका छन् । यसै समयमा चुनाव पनि हुदैछ । किसानहरू दिनभरि बारीमै मकै भाँच्ने, धान भित्र्याउने र खेत जोत्ने काममा व्यस्त रहेकाले भोट माग्न घरदैलोमा पुगेका उम्मेदवारहरू खेतबारीसम्मै पुग्न थालेका छन् । 

जिल्लाबाट प्रतिनिधित्व गरेर चुनावी अभियानमा होमिएका उम्मेदवार अहिले घरदैलो गरिरहेका छन् । आमसभा, माइकिङ, र्‍याली गर्न निर्वाचन आयोगले कार्तिक १७ गतेसम्म रोक लगाएको हुँदा उम्मेदवारहरू अहिले मतदाताका घर-घर पुगिरहेका हुन् । उम्मेदवारहरू बारीमै पुगेर काममा सघाउँदै मत माग्दै गरेको किसानहरू बताउँछन् ।

दार्चुलामा अहिले सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीसहितको टोली घरदैलोमा छ । 

यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार गणेश सिंह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी, प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशी पनि गाउँघर केन्द्रित छन् । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका शङ्कर सिंह धामी जिल्लाको उत्तरी विकट क्षेत्रबाट घरदैलो गर्दै मतदातासँग मत दिन आग्रह गरिरहेका छन् । 

यससँगै दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र सिंह धामी, नागरिक उन्मुक्ति पार्टीका तारा दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बम, नेश्नललिष्ट पिपुल्स पार्टीका धर्म सिंह दयाली, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेशराम लुहार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामी र नेपाल किसान पार्टीका विश्वराम दुवाल पनि उम्मेदवार बनेर चुनावी प्रचारप्रसारमा होमिएका छन् । 

९ छुट्टाछुट्टै पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा भए पनि प्रतिनिधिसभामा नेपाली काँग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्ना बीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । यस्तै प्रदेशसभा सदस्य पदका लागि पनि स्वतन्त्र सहित ९ दलका उम्मेदवार छन् । उनीहरूले पनि आ-आफ्नो चुनावी एजेण्डाका साथ मतदाताहरू सँग मत मागिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्र बहादुर बम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामी प्रदेश सभा क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर सिंह धामी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ