arrow

कांग्रेसको सुरक्षित र एमालेको ट्रायल क्षेत्रमा भीमसेनसँग सर्वेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
bhimsen-das-pradhan-sarvendra-khanal.jpg

काठमाडौं । १० क्षेत्रमध्ये काठमाडौं ६ लाई नेपाली कांग्रेस र नेकपा एमालेले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ । 

मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएका छन् । 

सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान ‘ह्याट्रिक’ गर्न र केही साताअघि मात्र एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल ‘ट्रायल उम्मेदवार’ का रुपमा मतदाताको घरदैलो पुगिरहेका छन् । 

त्यसैले उक्त क्षेत्रमा यस पटक रोचक प्रतिस्पर्धा हुने निश्चित छ । दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६ औं आईजीपीको फूली लगाएर अवकाश लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमाञ्चक हुने अनुमान गरिएको छ ।

अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग चिरपरिचित छन् । आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्याङको आकारप्रकार छामेका छन् । सडकहरुको नाप, ढुंगेधाराहरुको संख्या कन्ठस्त गरेका छन् । तर मूख्य प्रतिस्पर्धीका रुपमा आएका खनाल भने जेनतेन एक सय मतदातासँग प्रत्यक्ष परिचित भएका छन् । चार भागमध्ये एक भाग पनि टोलको फन्को लगाउन भ्याएका छैनन् । यद्यपि आफ्नो चुनावी अभियानलाई भने चर्काएका छन् ।

हुनत उक्त क्षेत्रबाट राप्रपाबाट स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि घरदैलोमा व्यस्त छन् । त्यो भन्दा पनि पूर्व रक्षामन्त्री प्रधान र पूर्व आईजीपी खनालबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । 

प्राध्यापन पेशा त्यागेर राजनीतिमा होमिएका प्रधान र सरकारी जागिरबाट रिटायर्ड भएर फुर्सदको समय सदूपयोग गर्न आएका खनालको प्रतिस्पर्धालाई कतिपय विश्लेषकहरुले प्रतिस्पर्धा नै ठानेका छैनन् । त्यसैले त खनाल भन्छन्, ‘म हार–जितका लागि आएको होइन । सत्तारुढ गठबन्धनले देशलाई बरबादीको दिशातर्फ लैजान लागेकाले जोगाउन आएको हुँ ।’ प्रधानले पनि खनालको उम्मेदवारीलाई अराजनीतिक भनेका छन् । अराजनीतिक उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने प्रधानको दाबी छ । 

दागी भर्सेस सादगी
प्रहरी सेवामा रहँदा खनालले केही कामहरु राम्रा गरे पनि गणना गर्न योग्य कामहरु भने उनको जीवनमा नमेटिने दाग बनेर बसेको छ । जसलाई प्रतिस्पर्धीहरुले चुनावी मसला बनाएका छन् । उनलाई दागी उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । भलै, खनालले भने प्रहरी सेवामा रहँदा लोकप्रिय काम गरेको, भ्रष्टाचारीलाई कठघरमा उभ्याएको र गुन्डाहरुलाई तह लगाएको भन्दै मत मागिरहेका छन् ।

तर उनकै कार्यकालनमा बिर्सनै नसिकिने निर्मम घटनाहरु भएका छन् । उनको कार्यकालमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र सो घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको, ‘सांसद अपहरण’ काण्डमा मुछिएको भनी प्रचार गरिएको छ । त्यतिमात्र नभइ आफैं निर्वाचन लडेको सामाखुशी कपुरधारा क्षेत्रमा कुमार श्रेष्ठ (घैंटे) लाई खनालकै निर्देशनमा फेक इन्काउन्टर गरी हत्या गरेको आरोप छ । जसका कारण युवा मतदाता उनीसँग सन्तुष्ट छैनन् ।

सामान्य जीवनयापन गरिरहेका प्रधान भने सादगी नेताका रुपमा परिचित छन् । बर्षौंदेखि उनी मतदाताको सारोगारो, दुःख–बिमार, आपत् विपत, जन्ती–मलामी पुगिरहने गरेकाले प्रिय छन् । २०३६ सालमा विद्यार्थी राजनीति र २०४८ देखि नै कांग्रेसको सक्रिय भूमिकामा रहेका प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । 

उनी भन्छन्, ‘राजनीतिमा लागेर धेरै साथीहरुले आर्थिक उन्नति गरे । मैले राजनीतिलाई सेवा ठानें । छँदाछँदैको प्राध्यापन पेशा त्यागँे र जनताको सेवामा समर्पित भएँ । मेरो क्षेत्रका जनताका लागि जानेर केही पनि बेइमान गरेको छैन । हैसियतले भ्याएसम्म सेवा गरेको छु । जीवनको उत्तरार्धमा आएर म बेइमानी गरेर देह त्याग गर्न चाहन्न ।’

प्रधान सदन चलेको दिन र पार्टीको महत्वपूर्ण काममा व्यस्त हुनुबाहेक हरेक दिन आफ्ना मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन । 

दुई कार्यकाल सांसद रहँदा ठूला राष्ट्रिय मुद्दाहरु उठाएर आफ्नो क्षेत्रको नाम र इज्जत राखेको दाबी गर्र्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकविरुद्ध जागरण अभियान ल्याएर सरकारलाई घुँडा टेकाउन सफल भएको, खुलामञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउन आफूले महत्वपूर्ण योगदान गरेको सुनाउँछन् । त्यसबाहेक आफ्नो निर्वाचन क्षेत्रमा ठूला आयोजनाहरु भित्र्याउन भूमिका खेलेको उनको दाबी छ । 

प्रधानले एमाले अध्यक्ष ओलीले संविधान मिच्ने काम गरेकोले त्यसलाई सही मार्गमा ल्याउन सत्ता गठबन्धनको आवश्यकता परेको बताउँदै संविधान रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् । 

उनले ‘जनताको जिम्मेवारी, जनतालाई जनाधिकार, जनताप्रति जवाफदेहिता’ नारा अघि सारेका छन् । 

खनाल एमालेका लागि परीक्षण मात्र
एमालेले काठमाडौं ६ लाई आफ्नो सुरक्षित क्षेत्रका रुपमा स्वीकारेको छैन । त्यसैले टेष्टका लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सोही क्षेत्रमा रैथाने एमालेका नेताहरु सन्तुष्ट छैनन् । 

उक्त क्षेत्रमा एमालेबाट योग्य र सक्षम उम्मेदवारहरु हुँदाहुँदै खनाललाई टिकट दिएपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ । 

प्रहरी सेवामा रहँदा कुशल प्रशासक, गुण्डा, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका उम्मेदवार भनेर उनलाई प्रचार गरिए पनि मतदाताले त्यसलाई स्वीकार्न सकिरहेका छैनन् । 

उनको विवादित छविबारे सामाजिक संजालमा छरपष्ट भएपछि मतदाताको मनोविज्ञान बदलिएको छ । 

त्यतिमात्र नभइ राजनीतिमा त्याग गरेका नेतालाई टिकट नदिएर पूर्व प्रशासकलाई उम्मेदवार बनाइएपछि एमालेका प्रतिबद्ध कार्यकर्ताहरुमा निराशा छाएको छ । 

मतको अंकगणित
गत बैशाखमा भएको स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने उक्त क्षेत्र कांग्रेस बलियो देखिन्छ । स्थानीय तहमा कांग्रेसले १६ हजार ४ सय ७९ मत पाएको थियो भने एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको थियो । 

माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको थियो । 

काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिकाका १, ८, ९, १० र ११ नम्बर वडाहरु समावेश छन् ।

काठमाडौं महानगरपालिकाको उपमेयर भइसकेकी हरिप्रभा खड्की प्रदेश सभा (क) र प्रदेश (ख) का सत्ता गठबन्धनका विष्णुभक्त तिमिल्सिना जस्ता प्रभावशाली उम्मेदवार रहेकाले प्रधानसहितको गठबन्धनको टीमले विजय हासिल गर्ने आँकलन गरिएको छ । यो चाहिँ निश्चित हो कि जसले मतदाताको मन जित्छन् उनैले जित्छन् चुनाव । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ