arrow

सिलवालसँग बदला लिन राणा तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
udaya shamsher rana nawaraj silwal.jpg

ललितपुर । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक रहेको जिल्ला हो ललितपुर । तर यहाँका कतिपय क्षेत्र अझै दुर्गम र अविकसित छन् । चुनावमा विजयी गराएर पठाएका जनप्रतिनिधिले अविकसित क्षेत्रको विकासमा प्रभावकारी भूमिका नखेलेको भनेर मतदाताले वर्षौंदेखि आक्रोश पोखिरहेका छन् । 

यसपालि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु सबैभन्दा धेरै समय ती अविकसित साथै काँठ क्षेत्रमा घुमिरहेका छन् । मतदाता आशा र अपेक्षा मिश्रित आक्रोश पोखिरहेका छन् ।  

प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल उम्मेदवार छन् । उनीहरुले बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारेका छन् । राणा ‘समुन्नत ललितपुर’ को प्रष्ट खाका लिएर मैदानमा छन् भने सिलवालले ‘समृद्ध ललितपुर’ को मुद्दा अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा (क) बाट र कांग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा (ख) मा साथ लिएर चुनावी घरदैलोलाई तीव्र पारेका हुन् । 

२०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणा यसपालि उनै सिलवाललाई बदला लिने कसरतमा छन् । राणा चौथो पटक चुनाव भिड्दै छन् भने सिलवाल दोस्रो पटक मैदानमा छन् । 

रोचक प्रतिस्पर्धा
ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरीत छ । अघिल्लो चुनावमा नेकपा माओवादी केन्द्रको साथ पाएका सिलवालले ६,२२२ मतले राणालाई हराए । तर यसपटक कांग्रेसलाई माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको साथ छ । 

सो हिसाबले यसपालि राणा बलियो उम्मेदवारका रुपमा देखिएका छन् । मतदाताहरुले राणाको सोझै पल्लाभारी हुने अनुमान गरेका छन् । किनकि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको मत बलियो छ । 

गोदावरी नगरपालिका, महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका समेटिएको उक्त निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटा वडामा वडाध्यक्ष पदमा जितेको छ ।

३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरुले पाएको मतान्तर हेर्ने हो भने राणाको विजय निश्चित छ । किनकि सबै वडाको मतमा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४ मत, एमाले वडाध्यक्ष उम्मेदवारले १८ हजार ९९३ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार १३३,  राप्रपाको १ हजार ७५७ मत पाएको देखिन्छ । एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २ हजार ५०० सय मत कटाएका छन् ।

यस हिसाबले गठबन्धनको मात्र मत २९ हजार ९८७ मत हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ । 

राप्रपाले एमालेलाई सहयोग गर्दा र गठबन्धनको मत थोरै विभाजित हुँदा पनि प्रतिनिधि सभामा राणाको पल्लाभारी रहेको सोझो अनुमान लगाउन सकिन्छ । 

यद्यपि स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनलाई एउटै दाँजोमा हेर्न मिल्दैन । केही भोट तलमाथि अवश्य हुन्छ । उम्मेदवारको प्रभावले पनि मतमा उतारचढाव हुने गरेको पाइएको छ । 

राणाको दाउ
२०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्वाकांक्षी योजनाहरु अघि सारेका छन् । राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । 

उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनलाई महत्वपूर्ण योजना ल्याउने बाचा गरेका छन् । 

‘मैंले चुनाव जित्दा वा हार्दा होस् निरन्तर काम गरेको छु । जनताको माझ पुगिरहेको छु । मेरो योजना समुन्नत ललितपुर बनाउने हो । भ्रष्टाचार न्यूनीकरण गर्दै पारदर्शी ढंगले जनताका आकांक्षाहरुलाई पूरा गर्ने इच्छा हो’, उनले भने, ‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो । म जित्ने उम्मेदवार हुँ । यस पटक सबै मतदाताले माया गर्नुहुनेछ ।’

‘मेरो क्षेत्रमा भौतिक पूर्वाधारको विकास चाहिएको छ । जनतालाई सुख दुःखमा साथ चाहिएको छ । कोरोनाको महामारीका बेला मैले गरेको सहयोग अहिले मतदाताले सम्झिरहनु भएको छ ।

०७० सालदेखि यता मेरो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन । मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ । यी सबै पृष्ठभूमिहरु हेर्दा मेरो जित निश्चित छ’, राणाको दाबी छ । 

आफू अर्थराज्यमन्त्री हुँदा प्रशस्त योजनाहरु भित्र्याएको उनको भनाइ छ । 

सिलवालको सवाल
राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रहरी प्रशासक (डीआईजी) सिलवालले आफूलाई स्थानीयबासी भएको बताउँदै राणालाई टुरिष्ट उम्मेदवारको आरोप लगाइरहेका छन् । 

स्थानीय तहमा खसेको मतलाई संघमा तुलना गर्न नहुने पनि उनको भनाइ छ । उनले सदनमा हुँदा आफ्नो क्षेत्रका लागि थुप्रै कामहरु गरेको दाबी गरिरहेका छन् ।

तर पाँच वर्षको कार्यकालमा देखिनेगरी कुनै योजना नभित्रिएको स्थानीयको भनाइ छ । सिलवालले पाँच वर्षको अवधिमा सिक्ने मात्र गरेको, संसदमा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको पनि आम मतदाताको बुझाइ छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको पनि सिलवालमाथि आरोप छ । 

तर उनले आफूलाई बचाउ गर्दै आफ्नो क्षेत्रमा प्रशस्त योजनाहरु भित्र्याएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । अघिल्लो कार्यकालमा तयार भएका आधारहरुलाई आगामी दिनमा पूरा गर्ने आश्वासन दिइरहेका छन् । त्यसो त उनीमाथि प्रहरी प्रशासक हुँदा गरेको बेइमानीको हिसाबकिताब पनि आफूहरुले राखेको मतदाताहरु बताउँछन् । 

यता नेपाल तरुण दलका पूर्व अध्यक्ष, संविधान सभा सदस्य, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष साथै विभिन्न महत्वपूर्ण तह र तप्कामा बसेर काम गरिसकेका राणा बौद्धिक नेता भएका कारण युवाहरुले उनलाई विजयी गराइछाड्न घरदैलो अभियानलाई चर्काइरहेका छन् । राणाले मन्त्री हुँदा कुनै कलंक नबोकेको विषयलाई पनि युवाले नजिकबाट नियालिरहेको बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ