arrow

मधेसमा कम्तीमा सात सिट जित्ने लोसपाको दाबी, यी हुन् सम्भावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
losapa-leaders-2079.jpg

जनकपुर । अन्तिम समयमा सत्तारुढ गठबन्धनमा आएका तराई मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले आगामी प्रतिनिधि सभाको निर्वाचनमा मधेस प्रदेशका कम्तीमा ६ देखि ७ सिट जित्ने आन्तरिक विश्लेषण गरेका छन् । 

लोसपाले देशभर ५२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी मधेस प्रदेशमा ९ सिटमा उम्मेदवारी दिएको छ । ९ मध्ये ७ सिटमा सत्ताधारी गठबन्धनसँग चुनावी तालमेल गरेको छ भने बाँकी २ सिटमा गठबन्धन र लोसपाले मित्रवत प्रतिष्पर्धा गर्दैछन् ।  

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले मधेस प्रदेशका कम्तीमा ७ सिटमा लोसपा विजयी हुने दाबी गरेका छन् । 

सर्लाही २ मा लोसपाबाट राजेन्द्र महतो र गठबन्धनबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादवले उम्मेदवारी दिएका छन् । यादवले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका हुन् । 

यस क्षेत्रमा गठबन्धन र लोसपाबीच मित्रवत् प्रतिष्पर्धा गर्ने समझदारी बनेको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मत परिणामलाई हेर्दा यादव बलिया छन् । तर महतो पनि कमजोर छैनन् । उनी बलिया उम्मेदवार हुन् । 

यस क्षेत्रमा महतो र यादवबीच सोझो टक्कर भएको छ । यादव र महतोमध्ये कसले चुनाव जित्छ यसै भन्न सकिने अवस्था छैन । २०७० को निर्वाचनमा पनि सर्लाही २ मा महतो र यादवबीच प्रतिष्पर्धा भएको थियो । 

त्यतिबेला यादवले चुनाव जितेका थिए । २०७४ को निर्वाचनमा भने महतो धनुषा पुगेका थिए । यसपटक महतो सर्लाहीमा फर्केका छन् । महतो र यादव दुवै नेताको गृह जिल्ला सर्लाही हो । 

त्यसैले सर्लाही २ लाई यी नेताले प्रतिष्ठाको विषय बनाएका छन् । ‘सर्लाही २ मा मैले जसलाई जिम्मा लगाएर धनुषा पुगेको थिएँ उनीले सर्लाही २ मा केही काम गरेनन् । जनता निराश भए, जिल्ला लथालिंग भयो । जनताको चाहना बमोजिम सर्लाहीमा फर्केको हुँ’ महतोले भने । 

यसैगरी सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादव र लोसपाका उम्मेदवार लक्ष्मीकान्त मण्डलले मित्रवत् प्रतिष्पर्धा गर्दैछन् । यस क्षेत्रलाई लोसपाका नेताहरुले जित सुनिश्चितताको रुपमा हेरेका छैनन् । 

सर्लाही १ मा उम्मेदवारी दिएका रामप्रकाश चोधरीको उम्मेदवारीलाई भने लोसपाका नेताहरूले जित सुनिश्चित भएको विश्लेषण गरेका छन् । 

यस क्षेत्रमा जसपाबाट प्रमोद साहले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा साहले यसै क्षेत्रबाट चुनाव जितेका थिए । तर यसपटक साहलाई जित्ने धेरै नै कठिन छ । 

गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको भोटको आधारमा ३० हजार भन्दा बढी भोटको फरकले गठबन्धन अगाडि छ । त्यसैले सर्लाही १ मा चौधरीको विजयलाई लोसपाका नेताहरुले सुनिश्चित रूपमा हेरेका हुन् ।  

सप्तरी २ मा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई यसपटक चुनाव जित्नु भनेको फलामको च्युरा चपाउनु सरह हुनेछ । यस क्षेत्रमा लोसपाका उम्मेदवार जयप्रकाश ठाकुर करिब १२ हजार भोटको फरकले यादवभन्दा अगाडि छन् । 

गत स्थानीय तहमा वडाध्यक्षमा दलहरुले ल्याएको भोटलाई आधार मान्दा यादव भन्दा ठाकुर धेरै बलियो देखिएका हुन् । यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उम्मेदवारी दिएका छन् । तर राउतको चुनाव जित्ने सम्भावना त्यति बलियो छैन । 

महोत्तरी ३ मा उम्मेदवारी दिएका लोसपाका अध्यक्ष महन्थ ठाकुर सुरक्षित अवस्थामा छन् । उनका प्रतिष्पर्धामा तराई मधेस लोकतान्त्रिक पार्टीका विशेशचन्द्र लाल उत्रिएका छन् । तर लालभन्दा ठाकुर अगाडि नै छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा दलहरुले ल्याएको भोटलाई आधार मान्दा १७ हजार भोटको फरकले ठाकुर अगाडि छन् । त्यसैले ठाकुरको उम्मेदवारलाई लोसपाका नेताहरुले जित सुनिश्चितको रुपमा हेरेका छन् । 

महोत्तरी २ मा लोसपाबाट शरत्सिंह भण्डारीले उम्मेदवारी दिएका छन् । यसपटक भण्डारीलाई भाग्यले साथ दिएको छ । किनभने त्यस क्षेत्रमा प्रतिष्पर्धीका दलका उम्मेदवार निकै कमजोर छन् । 

एमालेबाट राम परिक्षण यादवले उम्मेदवारी दिएका छन् भने तमलोपाबाट विजयी सिंहले उम्मेदवारी दिएका छन् । धनुषा ४ मा लोसपाबाट अनिल झाले उम्मेदवारी दिएका छन् । 

यस क्षेत्रमा एमालेबाट जुली महतोले उम्मेदवारी दिएकी छिन् । जसपाले महतोलाई साथ दिएको छ । यस क्षेत्रमा झा र महतोबीच प्रतिष्पर्धा हुने भएको छ । 

पर्सा १ मा लोसपाबाट लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा जसपाबाट प्रदिप यादवले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ कर्णलाई छ । त्यसैले यादव भन्दा कर्ण अगाडि छन् ।

यसैगरी बारा ३ लाई पनि लोसपाले जित सुनिश्चित भएको क्षेत्र मानेको छ । यस क्षेत्रमा लोसपाबाट लालबाबु सिंहले उम्मेदवार दिएका छन् । यस क्षेत्रमा एमाले र जसपाबीच गठबन्धन छैन । जसपाबाट रामबाबु यादव र एमालेबाट ज्वालाकुमारी सिंहले उम्मेदवारी दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ