arrow

पर्वतमा गिरीसँग बदला लिन जोशी तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
Arjun-padma parbat.jpg

पर्वत । पर्वतको एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी र नेकपा एमालेका पद्म गिरीबीच फेरि प्रतिस्पर्धा हुँदैछ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीलाई जितको साख जोगाउनुपर्ने चुनौती छ ।  

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुषाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । 

विसं २०५६, २०६४ र २०७० मा लगातार चुनाव जितेका जोशीलाई २०७४ सालको निर्वाचनमा गिरीले करिब १३ हजार मतान्तरले पराजित गरेका थिए । त्यतिबेला नेकपा माओवादीसहितको वाम गठबन्धन थियो । गिरीले ३९ हजार २७५ मत प्राप्त गरेकामा जोशीले २६ हजार ८१९ मत पाएका थिए । त्यसबेला कूल ६७ हजार ६८२ मत खसेको थियो । 

‘वाम गठबन्धनसँग एक्लै चुनावमा भिड्दा ठूलो मतान्तरले हारेको थिएँ’, उम्मेदवार जोशीले भने, ‘अहिले त्यही वाम गठबन्धन सहितका दल हामीसँग छन्, यो मेरो जितको पहिलो आधार हो । प्रतिस्पर्धीभन्दा बढी मत ल्याएर चुनाव जित्छु ।’

यता, गिरी पनि चुनाव जित्नेमा ढुक्क छन् । ‘हाम्रा विकासका काम यहाँका मतदाताले हेरेका छन्’, उनले भने, “मेरो प्रतिस्पर्धीलाई फराकिलो मतले हराउँछु ।” 

पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय चुनावको नतिजालाई पछ्याउँदा पाँच पालिकामा कांग्रेसले नेतृत्व गरेको छ । कांग्रेसले कुश्मा र फलेबास नगरपालिका तथा जलजला, बिहादी र पैयुँ गाउँपालिकामा जितेको थियो ।

कांग्रेसले जितेका पालिका प्रमुख र पराजित दुई पालिका मोदी र महाशिला गाउँपालिकाको मत संख्या जोड्दा गठबन्धन दलले पाएको जम्मा मत ३७ हजार ४८५ छ ।  

एमालेले दुई गाउँपालिका मोदी र महाशिला जितेको थियो । उसले पाएको जम्मा मत ३४ हजार ६६२ छ । यस्तै राप्रपासहित अन्य उम्मेदवारले पनि एक हजार ४५९ मत प्राप्त गरेका थिए । वडा तहमा भने एमालेले ६१ वडामध्ये ३३ मा जितेको थियो भने कांग्रेसले २४ वडामा जितेको थियो । यसैगरी माओवादी केन्द्रले तीन वडामा जितेको थियो भने एउटामा स्वतन्त्रले जितेको थियो । 

चुनावकै दौरानमा गठबन्धन दलले अपील-पत्र निकालेको छ । त्यसमा आगामी दुई वर्षभित्रमा भूमिहीनताको अन्त्यदेखि हरेक स्थानीय तहमा एउटा बारुण यन्त्र र एउटा एम्बुलेन्सलाई अनिवार्य गरिने उल्लेख छ । प्रत्येक वडामा विपद्का बेला सुरक्षित रहन सकिने सेन्टर र सार्वजनिक भवन, एउटा हेलिप्याडसमेत निर्माण गरिने उल्लेख छ । प्रत्येक नगरपालिकामा २५ देखि ५० श्यया तथा प्रत्येक गाउँपालिकामा १५ देखि २५ श्ययाको अस्पताल निर्माणका कुरा समेटिएका छन् ।   

‘म सांसद हुँदा धेरै गाउँमा बिजुली थिएनन्, सडकको ट्र्याक खोलिएका थिएनन् । पछि २०७० सालसम्म सबै ठाउँमा बिजुलीको पहुँच बढाउने काम भयो’, जोशी भन्छन्, ‘खानेपानी सापटी मागेर खानुपर्ने अवस्था पनि थियो, अहिले पर्वतका घरघरमा धारा पुगेको छ । पहिले मेरो प्राथमिकता गाउँका विकास मात्र थियो, अब भने रोजगारमा ध्यान दिनेछु ।’ 

एमालेले घोषणापत्र सार्वजनिक गरिनसकेको भए पनि शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणका कामले प्राथमिकता पाउने उम्मेदवार गिरीको भनाइ छ । ‘हामीले तीन वर्ष सरकार सञ्चालन गर्दा गाउँगाउँमा मोटरबाटो पुर्यायौं, अब किसानको उत्पादनलाई बजारसम्म जोड्ने कामको शुरुआत गर्नेर्छौं’, उनी भन्छन्, ‘पर्यटनलाई बढावा दिन पोखरादेखि पर्वतसम्म सुरुङमार्ग निर्माण गर्नेदेखि हजारौँ युवालाई रोजगार उपलब्ध गराउन कालीगण्डकी बहुउद्देश्य परियोजना सफल बनाउन लाग्नेछौं ।’ 

पर्वतमा एक लाख २२ हजार ६४९ मतदाता छन् । अठार वर्ष पुगेर पहिलो पटक मताधिकार पाएका युवामा भने उत्सुकता देखिन्छ । उनीहरु पार्टीलाईभन्दा पनि राम्रो उम्मेदवारलाई भोट हाल्ने सोचमा छन् । ‘यो त्यो पार्टी जान्दिन, राम्रो उम्मेदवारलाई मतदान गर्नुपर्ला भन्ने छ’, कुश्मामा जापानी भाषा सिक्दै गरेका १९ वर्षीय दिपेश ठकुरीले भने । 

प्रदेशसभातर्फ ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रका सुदीप कुँवर तथा एमालेबाट भक्त कुँवर उम्मेदवार छन् । गत बैशाख ३० मा भएको स्थानीय निर्वाचनको परिणामअनुसार गठबन्धनका उम्मेदवारले एमालेकोभन्दा ९३२ मत बढी ल्याएका थिए ।

प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी उम्मेदवार बनेका छन् । कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्य सचिव रहिसकेका तिवारी यसअघि मनोनित सांसद थिए । एमालेले भने मित्रलाल बस्याललाई अघि सारेको छ । विसं २०७४ को स्थानीय निर्वाचनमा एमालेकोतर्फबाट पैयुँ गाउँपालिकाको अध्यक्षमा पराजित बस्याल एमाले गण्डकी प्रदेशको सचिवालय सदस्य हुन् । 

चार पालिकामा पालिका प्रमुखले पाएको मतअनुसार एमालेको भन्दा गठबन्धनको पक्षमा एक हजार आठ सय ९१ मत बढी देखिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र तिनको उम्मेदवारका विषयमा आचारसंहिता उल्लङ्घनको कुनै पनि उजुरी परेको छैन । 

कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल र फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले निर्वाचन आचारसंहिता विपरीत कार्य देखिएकाले स्पष्टीकरण सोधेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । १४८ मतदान केन्द्रमा एक हजार ७७६ कर्मचारी खटिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ