arrow

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र र पुलिसको विजयी शुरुआत, आर्मी र बागमती निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
pm-cup-apf-2079.jpg

काठमाडौं । आजदेखि प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा खेल शुरु भएको हो । 

सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेका छन् । कीर्तिपुर मैदानमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो । 

सशस्त्रले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा अलआउट हुँदै २१९ रन बनायो । प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाएको इनिङ्समा सुन्दीप जोराले ५० रनको योगदान गरे । कप्तान शरद भेषावकरले मात्र १६ रन बनाए । विक्रम सोबले ४ विकेट लिए । 

जवाफमा आर्मीले ३२.१ ओभरमा अलआउट हुँदै १६३ रन बनायो । हरि चौहानले ६५ तथा रोहित पौडेलले ५१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

एपीएफका अमर राउटेलाले ४ तथा कमल ऐरीले ३ विकेट लिए । प्रदीप प्लेयर अफ द म्याच भए । 

त्यस्तै मूलपानी मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले हरायो । टस हारेर पुलिसले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २८९ रन बनायो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले ८२ बलमा १०८ रन बनाए । त्यस्तै सुनील धमला र कुशल भुर्तेलले समान ३७ रन जोडे । नन्दन यादवले सर्वाधिक २ विकेट लिए । 

क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिक कम नकआउट पद्धतिमा प्रतियोगिता हुनेछ ।

समूह ‘ए’मा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश १ छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ