arrow

आज कस्तो रहला तपाईको दिन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
rashifal-horoscope-green_1618196829.jpg

मेष : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला ।

वृष : आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

मिथुन : आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । माता पिता र अभिभावक वर्गसँग सामीप्यता राख्नसके राम्रो हुनेछ । अरूको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्य पक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

कर्कट : आज भने समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सिंह : आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोट पटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालीन योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

कन्या : आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

तुला : आज भने समय राम्रो छैन । आज द्वितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषि कर्म र बन्द व्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सृजना हुनेछ ।

वृश्चिक : आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । स्वास्थ्य सबल रहने छ ।

धनु : आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाईमा प्रगति हुनेछ । मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेशामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

मकर : आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरूले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्‍याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसँगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला ।

कुम्भ : आज भने समय राम्रा छैनन् । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रूपमा आज कसैकहाँ जानु ठिक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । जताबाट पनि खर्च मात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

मीन : आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र लाभप्रद रहनेछ ।

साइत : आज सूर्य तुला, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

आजको पञ्चाङ्ग
मिति २०७९ कात्तिक १४ गते सोमबार, इस्वीसंवत अक्टोवर ३१ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको सप्तमी तिथि रहनेछ ।

नक्षत्रमा पूर्वाषाढा, विष्कुम्भादि योगमा धृति, करणमा चर, आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य तुला राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । दिनमान २७ घटि ४२ पला अर्थात ११ घण्टा १४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६:१४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५:१९ बजे हुनेछ ।

आजको शुभ लाभादि बेला
बिहान ०६:१० बजेदेखि ०७:३४ बजेसम्म अमृत बेला
बिहान ०७:३४ बजेदेखि ०८:५८ बजेसम्म काल बेला
बिहान ०८:५८ बजेदेखि १०:२३ बजेसम्म शुभ बेला
बिहान १०:२३ बजेदेखि ११:४७ बजेसम्म रोग बेला
दिनमा ११:४७ बजेदेखि १:११ बजेसम्म उद्वेग बेला
दिनमा १:११ बजेदेखि २:३६ बजेसम्म चर बेला
दिनमा २:३६ बजेदेखि ४:०० बजेसम्म लाभ बेला
साँझ ४:०० बजेदेखि ५:२५ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ