arrow

काठमाडौं ९ क मा नानूको लोकप्रियता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
nanu-bastola-kathmandu9k.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा चुनावी गर्मी बढेको छ । धार्मिक, पुरातात्विक, व्यापारिक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिने यस क्षेत्रमा प्रमुख दलकै उम्मेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर  १२, १४, २१ र २२ साथै चन्द्रागिरी र नागार्जुन नगरपालिकाका केही वडाहरु समेटिएको यस क्षेत्रमा संयुक्त गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी कल्पना धमला र नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ आमनेसामने हुँदैछन् । यस क्षेत्रमा राप्रपा साथै स्वतन्त्र उम्मेदवारहरु मैदानमा रहे पनि धमला र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यद्यपि यस क्षेत्र अन्तर्गतका प्रदेश सभातर्फ भने रोचक प्रतिस्पर्धा हुँदैछ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानू बास्तोला प्रदेश सभा (क)र कांग्रेसकै नेता श्यामकृष्ण खड्का प्रदेश सभा (ख) मा एमालेका हरिकृष्ण डंगोल र केशवप्रसाद पोखरेलबीच भिडन्त हुँदैछ । 

काठमाडौं महानगरका महत्वपूर्ण स्थलहरु रहेको प्रदेश सभा (क) मा धेरैको नजर परेको छ । उक्त क्षेत्रमा कांग्रेसकी युवा र बौद्धिक नेतृ बास्तोला र एमालेका पाका नेता डंगोल मैदानमा छन् । 

युवा र पाकाको भिडन्त
काठमाडौं ९ को प्रदेश सभा (क) महानगरकै १२, १४, २१ र २२ वडाहरु समेटिएको महत्वपूर्ण स्थानहरु रहेकाले प्रदेश उम्मेदवारको अनुहार र पृष्ठभूमिलाई मतदाताहरुले चाँसोका साथ हेरेका छन् । 

विद्यार्थी राजनीतिबाट उदाएकी कांग्रेस नेतृ बास्तोला पूर्व वडाध्यक्षसमेत रहेका डंगोलसँग प्रतिस्पर्धा गर्दैछन् । उम्मेदवारको छिनोफानो हुनुअघि प्रतिनिधि सभाका लागि बलियो दाबेदारी प्रस्तुत गरेकी बास्तोलाले गठबन्धनका तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएपछि प्रतिस्पर्धीहरुले रणनीतिलाई फेरबदल गरिसकेका छन् । 

नानूको क्रियाशीलता, विभिन्न संघसंस्थामा आबद्धता र संजाल विस्तारका कारण प्रतिस्पर्धीहरुले चुनावी रणनीतिलाई केही फेरबदल गरेको अनुमान गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा नेविसंघको विभिन्न इकाइ हुँदै नेपाल महिला संघको केन्द्रीय सदस्य, पार्टीको प्रशिक्षण प्रतिष्ठान र कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य रहेकी बास्तोलाले चुनावी अभियानलाई तिब्रता दिएकी छन् । 

‘म काम गर्ने व्यक्ति हुँ । प्रचार भन्दा पनि काम नै गरेर जनताको मन जित्नुपर्छ भन्ने मान्यता राख्छु । समाज बदल्नुपर्छ । अवस्था फेर्नुपर्छ भन्ने मेरो सोच हो’, उनले भनिन्, ‘मेरो प्रदेश सभा अन्तर्गतका स्थानहरु फरक फरक विशेषताका भएकाले सोही अनुसारको मुद्दाहरु आवश्यक ठानेको छु । विशेषता र आवश्यकता अनुसारका कार्ययोजनाहरु अघि सारेको छु । मतदाताको मायाले विजयी भएर पाँच बर्षभित्र ति योजनाहरु पूरा गर्ने आँट र जाँगर बोकेर मैदानमा आएको छु । मतदाताले पक्कै विश्वास गर्नुहुन्छ ।’ 

हुनत प्रदेश सभा (क) मा बाँस्तोलाका मुख्य प्रतिस्पर्धीका रुपमा आएका एमालेका पाका नेता डंगोलले चुनावी अभियानलाई चर्कारहेका छन् । उक्त क्षेत्रमा एमालेको बेग्लै प्रभाव रहे पनि स्वतन्त्र उम्मेदवारहरुले मत काट्न सक्ने भएकाले बास्तोलाको पल्लाभारी हुने अनुमान मतदाताले गर्न थालिसकेका छन् । 

गत बैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–९ मा गठबन्धन अग्रस्थानमा देखिन्छ । 

युवा अनुहार, बौद्धिक र क्रियाशील महिला उम्मेदवार भएका हिसाबले नानू बास्तोलाले प्रदेश सभा सदस्यमा विजयी हासिल गर्ने अनुमान मतदाताहरुले गरेका छन् ।

किनकि एमालेका उम्मेदवारहरुका लागि स्वतन्त्र उम्मेदवारहरु बाधक बनेको भनेर प्रचार ब्यापक भइरहेको छ । साथै प्रचार भन्दा पनि काम नै गरेर जनताको मन जित्नुपर्छ भन्ने मान्यताका कारण आफूलाई मतदाताले रुचाएको नानूको दाबी छ । 

पृथक मुद्दा
प्रदेश सभा सदस्यका उम्मेदवारहरुले दिर्घकालीन र महत्वकांक्षी योजनाहरु अघि सारेका छन् । प्रदेश सभा (क) धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले सोही अनुसारका मुद्दाहरु अघि सारेका छन् । 

कांग्रेसकी बास्तोलाले तुलनात्मक लाभको क्षेत्र पहिचान गरी विकास गर्ने, व्यवहारिक शिक्षा स्तरीय व्यवसायिक शिक्षालयको स्थापना गर्ने, न्यूनतम शैक्षिक मापदण्ड लागु गर्ने, गरिबलाई निःशुल्क सीपमुलक तालिम संचालन गर्ने, सुरक्षित मातृत्व, पारिवारिक स्वास्थ्य विमा कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरु अघि सारेकी छिन् ।

‘मसँग संकल्प मात्र छैन । काम गर्ने जाँगर छ । मेरो क्षेत्रभित्रका मठ मन्दिर, चैत, गुम्बा जगेर्ना गर्नु नै छ । भाषा, संस्कृति साथै नेपाल भाषाको प्रवद्र्धनका लागि प्रशस्त कामहरु गर्नु छ । गुठी र अन्य धार्मिक तथा सांस्कृतिक संघ संस्थाको विकासका लागि धेरै गर्न बाँकी छ,’ उनले भनिन् । 

संघ, प्रदेश र स्थानीय तहका सरकारहरुबीच पर्याप्त समन्वयको अभावमा नागरिकहरुले दोहोर र तेहरो कर तिर्नु परेकोकाले उपभोक्ता हित संरक्षण कार्यक्रम पनि अघि बढाउने उनले घोषणा गरेकी छन् । 

बास्तोलाले भनिन्, ‘आफू विजयी भएर सांसद भइसकेपछि मासिक आउने पारिश्रमिक असहाय नागरिकहरुका लागि बेग्लै खाता संचालनमा ल्याएर चारै वडाका प्रतिनिधि सम्मिलित एक समिति मार्फत खर्च गर्ने प्रण गरिसकेको छु । आर्थिक रुपमा पारदर्शी रहनका लागि मेरो सबै सम्पत्ति विवरण जिम्मेवारी सम्हालेको र छाडेको ६ महिना भित्रमा सार्वजनिक गर्ने पनि प्रतिबद्धता मतदाताहरुसँग गर्दै आएको छु ।’

हुनत मुख्य प्रतिस्पर्धीका रुपमा रहेका डंगोलले पनि प्रभावकारी चुनावी मुद्दा अगाडि ल्याएका छन् । तर पनि विगतका वर्षहरुमा क्षेत्रबासीका निम्ति कुनै विकासका प्रभावशाली भूमिका निर्वाह नगरेको उनीमाथि आरोप छ । त्यतिमात्र हैन व्यवसायिक रुपमा पनि डंगोल विवादमा मुछिएकाले त्यसको प्रत्यक्ष फाइदा बास्तोलाले लिनसक्ने अनुमान गरिएको छ । 

   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ