arrow

मतदाताको नजरमा डा सुनील शर्मा

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
dr-sunil-sharma-2079-07-15.jpg

मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले गरेको कर्म भने लोभलाग्दो छ । उनले अहिलेमात्र हैन वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा विपदमा परेका न्यून आय भएका बिरामीकाे उपचार गरिरहेका छन् ।  

उनले काठमाडौंको केएमसी र विराटनगरको नोबल अस्पतालमार्फत कर्म गरिरहेका छन् । हजारौंको निःशुल्क उपचार गरेका छन् । सयौं गरिब परिवारका जेहन्दार विद्यार्थीलाई निः शुल्क पढाइरहेका छन् ।

निर्वाचनको मिति नजिकिए सँगसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दल आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिरहँदा डा. सुनील शर्माको मत माग्दै आफ्नाे गर्दै आइरहेको कर्मलाई पनि निरन्तरता दिइरहेका छन् ।  

उनी पनि उम्मेदवार छन् । उनी मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार हुन् । यस पटक मतदाताले यो क्षेत्रलाई रोचक ढंगले नियालिरहेका छन् ।

आउँदो निर्वाचनमा पहिलो पटक भोट हाल्ने तयारीमा रहेका बेलबारी ११ का साभार श्रेष्ठ असल, भ्रष्टाचार विरोधी अनि आम जनभावना बुझ्ने उम्मेदवारलाई भोट हाल्ने बताउँछन् । 

‘यस निर्वाचन क्षेत्रमा सुकुम्बासी समस्या मुख्य रहेकोले यसको दीर्घकालीन समाधान गरीदिन उम्मेदवारसँग माग छ’, पथरी शनिश्चरेकी माया राईले भनिन् । 

त्यस्तै बेलबारीकी पद्यमाया गुरुङ ‘नेताहरुलाई जिताएर संसदमा पठाए पनि चुनाव सकिएपछि फर्किएर नआएको’ गुनासो गर्छिन् । गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने डा. सुनील शर्मा भगवान जस्तै भएको गुरुङ बताउँछिन् । उनले भनिन्, ‘गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने सुनील शर्मा भगवान जस्तै हुनुहुन्छ ।’

डा. शर्मा २०७४ सालमा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसका तर्फबाट उठेका उनले झिनो मतले हार बेहोरेका थिए । त्यतिबेला एमालेका नेता भानुभक्त ढकाल विजयी भएका थिए । तर यसपालि आफूले जित्नेमा डा. शर्मा ढुक्क छन् । 

शर्माले ‘स्वास्थ्य, शिक्षा, यातायात र रोजगारी’ आफ्नो मुख्य एजेन्डा बनाएका छन् । फेरि आमने सामने भएका ढकाललाई दोब्बर मतले जित्ने उनको दाबी छ । ‘अघिल्लो चुनावमा थोरै मतले मात्रै हारेँ, यसपटक गठबन्धनकोसमेत साथ रहेकाले दोब्बर मतले जित्छु,’ शर्मा दाबी गर्छन् । 

उम्मेदवार त धेरै छन् तर फेरि पनि मुख्य भिडन्त ढकाल र शर्माबीच नै हुने देखिन्छ । 

ढकाल ‘अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानून बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको’ बताउँदै यस पटक पनि सहजै आफ्नो जित रहने बताउँछन् । 

मतदाताले भने टुरिष्ट सांसदलाई किन भोट हाल्ने ? भन्दै प्रश्न गरिरहेका छन् । ढकाल मोरङका हैनन् । उनले आफूले आफूलाईसमेत भोट हाल्न पाउँदैनन् । यसअघि मतदाताले जिताएको भए पनि केही काम नै नगरेपछि मतदाता रुष्ट रहेको बुझिन्छ ।

तर ढकालले भने मतदाताको गुनासो स्पष्ट पारिसकेका छन् । उनी आफूले आँटेका अधुरा काम यसपटक चुनाव जितेर पूरा गर्ने भन्दै मतदाता सामु गइरहेका छन् । 

कस्तो छ लेखाजोखा ?
गणतन्त्र घोषणा पश्चात् २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीबाट सावित्रीकुमार काफ्ले विजयी बनेका थिए । 

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा नेपाली कांग्रेसबाट दिलिप गच्छदार विजयी बन्न सफल भएका थिए भने गत २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट भानुभक्त ढकाल विजयी बनेका थिए । 

गत निर्वाचनमा ढकाल र शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको थियो भने यसपटक पनि ढकाल र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 

गत निर्वाचनमा खसेको ९१ हजार ६०६ मतमध्ये ढकाल ४२ हजार ४१३ मतले विजयी भएका थिए भने शर्माले ४० हजार ५०६ मत ल्याएका थिए ।यसपालि मोरङको क्षेत्र नम्बर ३ मा ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । ३३ मध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन् ।

नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन् । 

त्यसैगरी स्वतन्त्रहरूमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार छन् ।

 सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका २४ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार ८ सय ३३ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

क्षेत्र नम्बर ३ प्रदेश क मा ७५ हजार ३ सय ९३ कुल मतदाता संख्या रहेकामा ३८ हजार ६१२ महिला मतदाता संख्या रहेको र ख तर्फ ७४ हजार २ सय ४० कुल मतदाता संख्या रहेकोमा ३८ हजार ६२७ महिला मतदाता संख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले बताए । 

क्षेत्रभरी ४८ मतदान केन्द्र रहनेछन् जसमध्ये सबैभन्दा बढी बेलबारीमा २८, पथरी शनिश्चरेमा १४, सुन्दरहरैँचामा १२ र कानेपोखरीमा ८ स्थानमा रहने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत हेर्दा सत्ता गठबन्धन बलियो देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । 

एमालेको ३७ हजार ४१० र जसपाको ४६३ मत छ । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । मोरङमा राप्रपा आफैं चुनावी मैदानमा छ । 

राप्रपाको २ हजार १२१ मत छ । अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, एसको १ हजार ८५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार १४१ रहेको छ ।


 



नयाँ