arrow

जसपामा यादववाद  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र यादववाद यसरी लागु गरेका छन् कि उनले यादव बाहेक अन्य समुदायलाई सकेसम्म अवसर दिन्नन् । 

यसपटक पनि जसपाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका अधिकांश नेता यादव समुदायकै छन् । जसपाको प्रभाव भएको ठाउँमा छानी छानी यादवलाई उम्मेदवार दिन लगाइएको छ । जसपाको प्रभाव कम भएको अथवा जसपाले जित्न नसक्ने ठाउँमा भने गैर यादवलाई उम्मेदवार बनाइएको छ । 

अध्यक्ष यादवले आफैं सप्तरी २ मा उम्मेदवारी दिएका छन् । सप्तरी ४ मा बालकिशोर यादव तथा सिराहा २ मा राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी धनुषा २ मा गंगाराम यादव तथा महाजन यादवले उम्मेदवारी दिएका छन । यसैगरी महोत्तरी ३ मा हरिनारायण यादव, महोत्तरी ४ मा डा.सुरेन्द्र यादव, बारा २ मा रामसहाय यादव, बारा ३ मा रामबाबु यादव, तथा पर्सा १ मा प्रदीप यादवले उम्मेदवारी दिएका छन् । 

मधेस प्रदेशमा जसपाले १७ सिटमा उम्मेदवारी दिएको छ । त्यसमध्ये १० जना नेता यादव समुदायकै छन् ।

यसैगरी मधेस प्रदेश सभामा पनि अधिकांश उम्मेदवार यादव समुदायकै छन् । मधेस प्रदेशमा मात्र जसपाका यादव समुदायबाट सुगम्बर यादव, लक्ष्मण यादव, विन्देश्वर यादव, अभिषेक यादव, विजय यादव, रेणु यादव, सुकेश्वर यादव, शैलेन्द्र यादव, जितेन्द्र यादव, ज्ञानेन्द्र यादव, अशोक यादव, संजय यादव, रामकिशोर यादव, सरोज यादव, रामनरेश यादवले उम्मेदवारी दिएका छन् । 

शेरबहादुर देउवा नेतृत्व सरकारमा जसपा सहभागी हुँदा उपेन्द्र यादवले अधिकांश मन्त्री यादव समुदायकै बनाएका थिए । रेणु यादव, रामसहाय यादव, मृगेन्द्र सिंह यादव, प्रदीप यादव, महिन्द्र यादव (हाल नेपाल समाजवादी पार्टीमा सम्बद्ध) लाई सरकारमा पठाएका थिए । 

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभामा पनि उपेन्द्रले यादव समुदायकै व्यक्तिलाई छानीछानी अवसर दिएका थिए ।  

मधेस सरकारमा अहिले पनि यादव समुदायकै मन्त्रीको बाहुल्यता छ ।  २०७४ को प्रतिनिधि सभाका तत्कालीन संघीय समाजवादी पार्टीका १६ सांसदमध्ये ८ सांसद यादव समुदायकै थिए । यसैगरी मधेस प्रदेशमा जसपाका २९ सांसद मध्ये १५ सांसद यादव समुदायकै थिए ।  

राष्ट्रिय सभामा पनि यादव समुदायबाटै प्रतिनिधित्व गराइएको छ । उपेन्द्रले राष्ट्रिय सभामा मृगेन्द्र सिंह यादवलाई पठाएका छन् ।  

२०७४ को प्रतिनिधि सभामा जसपाबाट यादव समुदायका उपेन्द्र यादव, रेणु यादव, रामसाह यादव, सुरेन्द्र यादव, सूर्यनारायण यादव, रामबाबु यादव र प्रदीप यादव संसदमा उपस्थिति थिए ।  

यसैगरी मधेस प्रदेश सभामा यादव समुदायबाट अभिषेक यादव, विजय यादव, शैलेन्द्रकुमार यादव, रामआशिष यादव, ज्ञानेन्द्र यादव, कौशल यादव, अशोक यादव संसदमा उपस्थित थिए ।  

त्यसैगरी संजय यादव, योगेन्द्र यादव, रामकिशोर यादव, उषा यादव, उपमा कुमारी यादव, भिमा यादव र किरणकुमारी राय यादवले पनि यादव समुदायको प्रतिनिधित्व गर्दै प्रदेश सभामा गएका थिए । 
  
जसपाले राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वको माग राख्दै आएको छ । यसको लागि उपेन्द्र यादवले पटक पटक आन्दोलन गरेका छन । 

आन्दोलनका क्रममा दर्जनौंको निधन भएको छ भने सयौं व्यक्ति अङ्ग भङ्ग भएका छन् । उपेन्द्र यादवले समानुपातिक र समावेशी सिद्धान्तलाई उनले पटक पटक उठाउने गरेका छन । 

तर आफ्नै पार्टीभित्र समानुपातिक समावेशीको सिद्धान्तलाई भने पूरै लत्याएका छन् । मधेस प्रदेश सरकारमा उनले एक जना पनि दलित र थारु समुदायको प्रतिनिधित्व गराएनन् । यादवलाई मात्रै प्राथमिकतामा राखे ।  

पार्टीका महत्वपूर्ण पदमा उपेन्द्रले यादव समुदायकै प्रतिनिधित्व गराउने गरेका छन् । 

यसैगरी जसपाका विभिन्न भ्रातृ संगठनको पदाधिकारीहरुमासमेत छानीछानी यादव समुदायकै नियुक्त गर्ने गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ