- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले निराश बन्नुपर्ने स्थिति सिर्जना भइरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमन्डका कारण एमालेलाई यस पटक ठुलो धक्का लाग्ने भएको छ।
एमालेलाई आफ्नै पार्टीका साथीहरूले गर्दा सकस भइरहेको छ। कतिपय ठाउँमा केही नेताहरूले विद्रोह नै गरेका छन्। केही ठाउँमा भने विद्रोह नगरे पनि प्रभावशाली नेताहरू नै चुनावमा निष्क्रिय बनेका छन्।
मोरङ ५ मा एमालेले जसपाका राजकुमार यादवलाई सघाउने भएपछि योगेन्द्र मण्डल बागी उठेका छन्। अर्कातिर सुनसरी १ मा पनि मनोज मेयाङ्बोले विद्रोह गरेका छन्। टिकटलाई नै लिएर मोरङका एमाले सचिव रुपेश खतिवडाले पदबाट राजीनामा नै दिएका छन्।
एमाले प्रदेश १ कमिटी अध्यक्ष तुलसी न्यौपानेले केही नेताहरू असन्तुष्ट भएको स्वीकार गरे। ८ जिल्ला, सङ्घीय ३२ र प्रदेश ६४ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा पुराना नेतालाई अवसर नदिइएको र योगदानको कदर नभएको भन्दै एउटा पङ्क्तिले पार्टी निर्णयले समस्या परेको बताइरहेको छ।
धनुषा, बारा, रौतहट, सप्तरी र सर्लाही लगायतका केही क्षेत्र केन्द्रको केन्द्रीय निर्णयकै कारण गुमाउने खतरा बढेको उनीहरूको चिन्ता छ।
‘समग्रमा केही जिल्ला र क्षेत्रमा परिवार मोह र पैसाकै कारण पुराना नेतालाई अवसर नदिएर अवमूल्यन गरिएको साँचो हो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘यसले केही क्षेत्रको परिणाममा समस्या पार्न सक्छ। तर, बाहिर हल्ला गरिएको जस्तो सबै असन्तुष्ट भन्ने होइन।’
बागमती प्रदेशमा पनि उम्मेदवारी चयनप्रति नेताहरू खुसी छैनन्। उपत्यकाको काठमाडौँ ७, १० र ललितपुर ३ मा पनि नेताहरू रुष्ट छन्। काठमाडौँ ७ मा श्यामकुमार घिमिरेविरुद्ध एमालेकै रामवीर मानन्धरले बागी उम्मेदवारी दिए।
यस्तै हिमेश केसीले टिकट पाएको १० मा पनि नेताहरू असन्तुष्ट छन्। ललितपुर ३ मा अमृत खड्का उम्मेदवार छन्। त्यस क्षेत्रमा बाबुराम थापाले टिकट पाउने चर्चा थियो। शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष भइसकेकाले उनी जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रूपमा चिनिन्छन्। तर, टिकट खड्काले पाए। यसले एमालेको एउटा तप्का निकै रिसाएको छ।
सिन्धुपाल्चोक १ मा अरुण नेपालले टिकट पाउने चर्चा चले पनि अन्तिममा सुरेश नेपालले फुत्काए। अरुण एमालेभित्र निकै पुराना, अनुभवी र साङ्गठनिक नेताका रूपमा सिन्धुपाल्चोकका नेताहरूले चिन्ने नेतामा पर्छन्। तर, सुरेशले टिकट पाएपछि त्यहाँ पनि असन्तुष्टि छ।
चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गरेर क्षेत्र नम्बर ३ मा एमालेले काँग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि त्यहाँका एमाले कार्यकर्ता रिसाएका छन्।
एमालेबाट मकवानपुर १ मा रामेश्वर रानाको नाम सिफारिस भएको थियो।
तर, केन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई त्यो क्षेत्र छोडिदियो। ओलीले थापालाई टिकट दिएपछि निवर्तमान सांसद कृष्णप्रसाद दाहालसहितको पङ्क्ति असन्तुष्ट छ। त्यसले मकवानपुरका एमालेहरू असन्तुष्ट मात्र छैनन्, पञ्चेलाई मत दिन नसक्ने बताउन थालेका छन्।
जसको सिधा असर निर्वाचन क्षेत्रमा पर्ने नेताहरू स्वीकार गर्छन्। एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी पपुलर र जित्ने उम्मेदवार छानेर टिकट दिएकाले समस्या नभएको दाबी गर्छन्।
यस्तै गण्डकीमा कास्की, लमजुङ लगायतका नेताहरू टिकट वितरणप्रति खुसी छैनन्। मुख्यमन्त्री बन्न खोजेका पृथ्वी सुब्बा गुरुङले सङ्घीय टिकट पाएपछि त्यहाँ एउटा पक्षका नेताहरू असन्तुष्ट छन्।
यसै गरी लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका केही जिल्ला जिल्ला र क्षेत्र, कर्णालीका सुर्खेत, दैलेख, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिममा कञ्चनपुर, कैलाली, अछाम लगायतका जिल्ला र क्षेत्रमा असन्तुष्टि चरम छ। जसका कारण एमालेलाई निकै ठुलो धक्का लाग्ने देखिन्छ।