arrow

निर्वाचनपछिको ध्यान जनताको सेवा र भौतिक विकासमा लगाउने छु – डा सुनील शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
dr-sunil-sharma-2079-07-18.jpg

विराटनगर । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ का साझा उम्मेद्वार डा. सुनील शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताएका छन् । 

मोरङ क्षेत्र नम्बर ३ को आइतबारेमा भएको कोणसभालाई संबोधन गर्दै डा. शर्माले भोट माग्न आउँदा जनताले देखाएको अपार माया र आफूमाथि गरेको विश्वास आफ्ना लागि सबैभन्दा ठूलो सम्पति भएको बताए । 

‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन’, शर्माले भने, ‘स्वास्थ्य, शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरी काम गर्ने छु ।’ उनले भने, ‘निर्वाचनपछिको ध्यान जनताको सेवा र भौतिक विकासमा लगाउने छु ।

आम नागरिकका लागि स्वास्थ्यमा पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रमलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने शर्माको भनाइ थियो । 

आफू यसअघिका सांसद जस्तो चुनाव जितेपछि कतै नहराउने र जनताको जुनसुकै सुख दुःखमा सँगै रहने बाचा पनि शर्माले गरेका छन् । 

कार्यक्रममा शर्माले मोरङमा गठबन्धन आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गरेका छन् । ‘देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठबन्धन गरेका छौं । मोरङमा सबैभन्दा बलियो गरी गठबन्धन भएको छ ।’

प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वार नहुँदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकास र लोकतन्त्रका लागि गठबन्धनलाई जिताउन आफूभन्दा बढी खटेर लागेको शर्माको भनाइ छ । 

शर्माले भने, ‘गठबन्धनमा आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनी लागिरहेका छन् । गठबन्धनका शीर्ष नेता, उम्मेद्वारदेखि गाउँ कमिटीसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनको जित सुनिश्चित छ ।’



नयाँ