arrow

पूर्व मन्त्री यादवकी श्रीमतीसहित दर्जनौं कर्मचारीबाट आचारसंहिताको उल्लंघन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
pradip-yadav-pimki-yadav.jpg

वीरगञ्ज । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै पर्सामा दर्जनौं कर्मचारीहरु चुनावी प्रचार प्रसारमा लागेको पाइएको छ । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि समेतलाई प्रचार प्रसारमा लाग्नबाट प्रतिबन्ध लगाए पनि केही जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुबाट आचारसंहिताको उल्लंघन गर्ने कार्य व्यापक रुपमा भइरहेको छ । 

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी बढाइएको दाबी गरिरहेको बेला पर्सामा दर्जनौं कर्मचारी तथा जनप्रतिनिधिहरु उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिँडेको तस्बिरसमेत सामाजिक संजालमा भाइरल भइरहेका छन् । 

यसका साथै केही कर्मचारीहरुले टोलीनै बनाएर उम्मेदवारहरुको पक्षमा भोट मागिरहेको पाइएको छ । समाचारसमेत प्रकाशित भए पनि उक्त आचारसंहिता उल्लंघनबारे निर्वाचान कार्यालय पर्सालाई जानकारी नभएको जनाइएको छ । 

पूर्व मन्त्री एवं पर्सा क्षेत्र नम्बर १ का जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादवकी जेठी श्रीमती पिंकी यादवलेसमेत आचारसंहिता उल्लंघन गरेको पाइएको छ । 

उनी वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीनेरा प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका हुन् । उनले आफ्ना श्रीमान्को लागि केही शिक्षिकाहरुको टोलीसहित मत मागिरहेका तस्बिर आफ्नै समाजिक संजालमा हाल्नुका साथै स्थानीय संचार माध्यमहरुमा समेत उनले मत मागेको समाचार प्रकाशित भएका छन् ।

पिंकी यादव प्रदीप यादवको चुनाव प्रचार प्रसारमा लागको थाहा भए पनि उनी शिक्षिका भन्ने आफूलाई थाहा नभएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले बताइन् । 

प्रमाणसहित उजुरी वा कुनै प्रमाणित जानकारी आए प्रचार प्रसारमा लाग्ने कर्मचारी र उम्मेदवार दुवैलाई शुरुमा एक हप्ते स्पष्टीकरण सोध्ने र उचित जवाफ नआए कारबाही अगाडि बढाउने कार्यालय प्रमुख झाको भनाइ छ । 

पिंकी यादवलगायत अरु शिक्षिकाहरुले समेत चुनाव प्रचारप्रसारमा लागेकोबारे वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखाका एक अधिकृतसंग सोध्दा केही शिक्षकहरु प्रचार प्रसारमा लागेर गल्ती गरिरहेको गुनासो आएको र छानबिन भइरहेको बताए । 

श्रीनेरा प्राथमिक विद्यालय मनियारीकी प्राधानाध्यापक गम्भीरा यादवले उक्त विद्यालयमा पिंकी यादव राहत दरबन्दी तर्फको शिक्षिका रहेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ