arrow

आगामी सरकारको नेतृत्वका लागि छलफल भएको छैन – डा. महत

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
prakash-sharan-kailali-press-union.jpg

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको कसैसँग पनि छलफल नभएको बताएका छन् । आज प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहने बताएका हुन् ।

प्रधानमन्त्रीको लागि गठबन्धनका दलहरुबीच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पस्ट पारे । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उनले बताए । 

एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढी सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए ।

महतले मंसिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका हुन् । देशब्यापी गठबन्धनका पक्षमा जनलहर चलेको बताउँदै डा. महतले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा कुनै दुई मत नै नभएको बताए ।

महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाँडेको तर काम नगरेको आरोप लगाए । रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्यास ल्याउने भन्दै सपना बाँडेको तर काम नगरेको महतको भनाइ थियो । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उनको भनाइ छ । देउवाको पहलमा सुदूरपश्चिम प्रदेशमा धेरै विकास भएको भन्दै उनले ओलीले सपना मात्रै बाँडेको तर काम नगरेको आरोप लगाए ।

आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सृजना गर्नेमा विश्वस्त रहन महतले आग्रह गरेका थिए । कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको बताउँदै महतले अब ६५ वर्षमा वितरण गर्न लक्ष्य रहेको बताए ।



नयाँ