arrow

प्रधानमन्त्री देउवाले डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गर्दै , आजै काठमाडौं फर्कने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
sher-bahadur-deuba-dadeldhura-2079-07-18.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कदै छन् । गत बुधबार काठमाडौंबाट धनगढी पुगेका देउवा बिहीबार आफ्नो चुनावी क्षेत्र एवं गृहजिल्ला डडेल्धुरा पुगेका थिए । 

आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए । उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।

देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन् । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ ।

उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् ।

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस वीपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।

गत बिहीबार देउवाको स्वागतका लागि लाइनमा बसेर सागर भाइरल भएका थिए । देउवाको मुख्य भिडन्त पूर्व नेपाली कांग्रेसका नेता कर्णबहादुर मल्लसँग हुने आँकलन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ