arrow

केपी ओलीको भरमा राजकिशोर यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
rajkishore-yadav-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा १३ दिनमात्र मन्त्री भए । सर्वोच्च अदालतको आदेशपछि १३ दिनमै उनको मन्त्री गुमेको थियो । यतिबेला चुनावी मैदानमा होमिएका छन् । उनी यसपालि पनि ओलीकै भरमा छन् । 

अन्तिम समयमा जसपा र एमालेबीच गठबन्धन गराउन राजकिशोरले  भूमिका खेलेका थिए । चुनावी गठबन्धन विषयमा निर्णय गर्न गत असोज महिनामा जसपाले बोलाएको कार्यकारिणी समितिको बैठकमा राजकिशोरले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको तालमेल तोड्नु पर्ने सल्लाह दिएका थिए । 

नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भन्दा एमालेसँग गठबन्धन गरेमा पार्टीलाई फाइदा हुने विश्लेषण उनले बैठकमै सुनाएका थिए । 

जसपा स्रोतका अनुसार कार्यकारिणी बैठक अगाडि नै उनले एमाले अध्यक्ष ओलीसँग कुराकानी गरेका थिए । ओलीबाट ग्रिन सिग्नल पाएपछि उनले बैठकमा चर्को बोलेका थिए –स्रोतले भन्यो । 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा राजकिशोरले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव जितेका थिए । तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ जसपा निर्माण भयो । पछि जसपा विभाजन हुने बेला राजकिशोरले महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरुलाई धोका दिए र उपेन्द्र यादवतिर लागे । 

जबकि उनी तत्कालीन राजपाका अध्यक्ष मण्डलका एक सदस्य थिए । लोसपाका शीर्ष नेताको पद छाडेर उनी उपेन्द्रतिर लागे । उनी उपेन्द्रतिरमात्र लागेनन् गत असोजमा चुनावको मुखमै जसपालाई नेपाली कांग्रेससहित चार दलसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न भूमिका पनि खेले । 

स्रोतका अनुसार जसपा सत्तारुढ गठबन्धनमा सहभागी भएको बेला र शेरबहादुर देउवा नेतृत्व सरकारमा हुँदा पनि राजकिशोर पटक पटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने गर्थे । ओलीसँगको सम्बन्ध बिगार्नु हँुदैन भन्ने उनको सोच थियो । 

‘उहाँ (राजकिशोर) अत्यन्त अवसरवादी नेता हो । उहाँले देश र जनताको लागि कहिले राजनीति गर्नु भएन । सधै शक्तिको पछि लाग्नु भयो’, राजकिशोरलाई राम्रोसँग बुझेका लोसपाका एक केन्द्रीय नेताले भने । 

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा यादवले सिराहा २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा एमाले र जसपाले तालमेल गरेका छन् । यी दुई पार्टीबीचको तालमेलका बाबजुद नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादव राजकिशोर भन्दा अघि छिन् ।  

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा पार्टीहरुले ल्याएको भोट हेर्ने हो भने सिराहा २ मा चित्रलेखा विजय उन्मुख छिन् । सिरहा २ मा जसपाको भोट २१ हजार ९७ छ । 

जसपाको हाराहारीमा नेपाली कांग्रेसको भोट छ । सिराहा २ मा नेपाली  कांग्रेसको भोट १९ हजार ४७४ छ । यसैगरी एमालेको भोट १८ हजार ३५८ छ । सिराहा २ मा माओवादीको भोट ११ हजार ६५८, जनमत पार्टी ५ हजार १०१, नेकपा (एस) को ३ हजार ९२३ भोट छ ।  

यसैगरी यस क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीको भोट करिब १ हजार छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको भोट २५३ छ । 

राजकिशोर यादव दुई पटक मन्त्री भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनी सञ्चारमन्त्री भए भने ओलीको पालामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भए । दुई पटक मन्त्री हुँदा पनि उनले देखिने काम केही गरेनन् ।  

जसपाले एमालेसँग चुनावी गठबन्धन गरेपछि मधेस प्रदेशमा भोट माग्न जसपाका नेताहरूलाई अहिले नैतिक संकट परेको छ । यस्तो संकट राजकिशोरलाई पनि परेको छ । 

एमालेको कारण नागरिकता विधयेक पास हुन नसकेको बेला चुनावमा नागरिकताको विषय उठाउन जसपाका नेताहरुलाई नैतिक संकट परेको  हो । 

सिराहा २ मा राप्रपाबाट मुरली मिझार, नेपाल मजदूर किसान पार्टीबाट राजकुमार पासवान, जनमत पार्टीबाट विनोदकुमार यादव, हाम्रो नेपाल पार्टीबाट शिवशंकर यादव, राप्रपा नेपालबाट रामलाल सिंह लगायतकाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा जनमत पार्टीको पनि प्रभाव रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ