arrow

मकवानपुरमा १९ निर्वाचनस्थल अतिसंवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
Makwanpur-hamrakura.jpg.jpeg

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरका १९ वटा मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको छ । जिल्लामा एक सय ६७ मतदानस्थल रहेको जसमध्ये १९ वटा मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

साथै जिल्लामा ६० वटा मतदानस्थल संवेदनशील अवस्थामा रहेको र ७८ वटा मतदानस्थल सामान्य अवस्थामा रहेको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ । निर्वाचनस्थलहरु जिल्ला सदरमुकामदेखि टाढा, दुर्गम तथा बाटोघाटोको असुविधा, सुरक्षा समस्याका आधारमा मतदानस्थलहरुको वर्गीकरण गरिएको छ । जिल्लामा प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचनक्षेत्र रहेको मकवानपुरमा तीन सय ६४ मतदान केन्द्र रहेको छ ।
 
प्रशासनका तर्फबाट  निर्वाचनस्थलहरुको निरीक्षण र अनुगमन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा  सम्पन्न गर्न प्रशासन लागिपरेकाले सबैले सहयोग गर्नुपर्ने उनले आग्रह गरे । 

जिल्लामा थप सुरक्षाका लागि एक हजार ६ सय ९९ म्यादी प्रहरी परिचालनका लागि छनोट भइसकेको छ । यसै सम्बन्धमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनको तयारी अन्तिम अवस्थामा  रहेको बताउँदै निर्वाचन सफल बनाउन आचारसंहिताको पालना गर्नुपर्ने बताए।

जिल्लामा तीन लाख सात सय ३७ मतदाता रहेको जसमध्ये महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र पुरुषको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा तेस्रोलिङ्गी सङ्ख्या पाँच रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी तथा एक हजार चार सय ४२ स्वयम्सेवक खटिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ