arrow

एजेन्डामा अडिग डा शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
dr-shekhar-koirala-election-2079-07-20.jpg

विराटनगर । अरुबेला सुनसान जस्तै रहने ऐतिहासिक कोइराला निवास हिजोआज ब्यस्त छ । आस्थाको शिर झुकाएर कोइराला निवास प्रवेश गर्नेहरुको लर्को छ । कोशी अञ्चल अस्पतालको पश्चिमपट्टी साक्षात ठडिएको यो निवासमा डा. शेखर कोइरालाको चुनावी रणनीति बनिरहेको छ ।

पहिलो पटक कोइराला निवासको आँगनमा टेक्नेहरु आफ्नो पैताला मुनिको माटो उठाएर शिरमा लगाउँदै भित्ताभरी टाँगिएका तस्बिरहरुमा ढोगिरहेका छन् । साथै डा. कोइरालाको विजयीको कामना गरिरहेका छन् । 

हाम्राकुराको टोली निवासमा पुग्दा नेविसंघ पूर्वअध्यक्ष रंजित कर्ण, नेतृ चन्दा अधिकारी, एनआरएनए अभियन्ता सीता सापकोटाको टोली कोइराला परिवारको योगदानबारे गफिदै थियो । 

‘यो निवास प्रजातन्त्रको जग हो । पवित्र मन्दिर हो । कृष्णप्रसाद, वीपी, जीपी र अब डा. शेखर, डा. शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ । इतिहास जोगाउनु हुन्छ । यसपालि जनमत उहाँहरुको पक्षमा आउनेमा हामी ढुक्क छौं,’ पूर्वअध्यक्ष कर्णले भने । 

डा.शेखरले यही निवासको आँगनमा टेन्ट टाँगेर सचिवालय बनाएका छन् । कार्यकर्ता यही बसेर चुनावी कार्यक्रमहरु तयार गरिरहेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी हुन् । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयलाई निरन्तरता दिने मोडमा छन् । तर उनी ढुक्क भने देखिएनन् ।

किनकि २०७४ को चुनावमा कोइरालालाई ६७५ मतान्तरले मात्र पराजित गरेका थिए । वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा डा. कोइरालाले भने ३३ हजार २६६ मत पाएका थिए । 

सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक डा. कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित सशंकित देखिन्छन् । 

मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा. शेखर भावी प्रधानमन्त्रीको दौडमा नभइ सदन प्रवेशको कसरतमा रहेको बताउँछन् । ‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु । मोरङबासी मात्र नभइ मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ’, डा.कोइरालाले भने, ‘यस पटक हामी एक छौं । गठबन्धन एकढिक्का छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ । अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न मंसिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’

आफ्नाको डर र भर
उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबन्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका शीर्ष दलभित्र असन्तुष्टि छ । मोरङ क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट छैन । 

पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन् । तर पण्डित यसलाई स्वीकार्दैनन् । ‘पार्टीभित्र कुनै विवाद छैन । असन्तुष्टि छैन । सबै एक भएर भोट मागिरहेका छौं । बाहिरको हल्लामा सत्यता छैन,’ उनले प्रष्ट पार्दै भने । 

यता नेपाली कांग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो । अन्य भन्दा बलिया र सक्रिय देखिएका डा. कोइराला निर्विकल्प क्षेत्र नम्बर ६ को उम्मेदवार भएकाले आकांक्षीहरुले धेरै कसरत नै गरेनन् । 

सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भन्छन्, ‘शुरुआतीमा केही असन्तोष पैदा भएको हो । अहिले सबै व्यवस्थित भइसक्यो । सबै एक भएर घर दैलो गरिरहेका छौं । गठबन्धन भित्रका दलका नेता कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न । सशक्त भएर अघि बढेका छौं ।’

एजेन्डाका कुरा
६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभा क्षेत्र रहेको मोरङमा विकासका ठूला योजनाहरु अधुरै छन् । भूमिहीन र सुकुम्बासीका समस्या विकराल देखिन्छन् । मोरङबासीका आधारभूत आवश्यकता र विकासका योजनासहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । डा. कोइरालाले संकल्प पत्र सार्वजनिक गरिसकेका छन् । 

पण्डित पनि बितेका वर्षहरुमा सबैभन्दा धेरै आफूले काम गरेको दाबी गरिरहेका छन् । उनी भन्छन्, ‘विगतमा गरिएका ठूला काम जारी छन् । धेरैवटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए ।’

डा. कोइरालाले मोरङको मात्र नभइ सिंगो मुलुकको समृद्धि र विकाससहितको खाका अघि बढाएका छन् । उनले संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प’ सार्वजनिक गरेका छन् । 

उनले क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा. कोइरालाको संकल्प छ । 

आफ्नो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै उनले अब विविधताबीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने बताएका छन् ।  

डा. कोइरालाले गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र संचालनमा ल्याइने साथै विराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो संचालनमा ल्याउने संकल्प गरेका छन् ।

मतभारको अन्तर 
मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली कांग्रेसको एकछत्र थियो । तर राजनीतिक परिवर्तन र दलहरुमा देखिएको अन्तरकलहले कतिपय स्थानमा ठूला दलहरु कमजोर बन्दै गए र नयाँ दलहरुले हिस्सा ओगट्दै गए ।

तर २०७९ मा आइपुग्दा कांग्रेले पुरानो विरासत जोगाउन सक्ने संकेत गरेको छ । २०७० सालको संविधानसभा चुनावमा मोरङ नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै विजयी भएको थियो । 

यसपालि कांग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा सशक्त प्रदर्शन गरिरहेको छ । मतदाताहरुमाझ बलियो उपस्थिति जनाइरहेको छ । एमालेले पनि बेग्लै माहोल ल्याएको छ । उसले आफूलाई बलियो दाबी गरिरहेको छ । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरँैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ । एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडामा विजयी हासिल गरेका छन् । यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा लगायतको समर्थन छ । 

वडागत रुपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए । 

एमाले–जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ । सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ । 

गठबन्धनभित्र इमानदारी र कांग्रेसभित्र अनुशासन कायम रहे कांग्रेसका डा. शेखर कोइरालाले बाजी मार्ने निश्चित जस्तै छ । अर्कातर्फ पंडितलाई पनि एमाले–जसपा गठबन्धनको पूरै भोट जाने सम्भावना पनि कमै छ । आन्तरिक विवादसँगै अन्तर्घातको बाछिटा यो गठबन्धनमा पनि छ । 

एमाले मोरङ ६ को प्रदेश सभामा पर्शुराम बस्नेत (कृष्ण) र रिता न्यौपाने उम्मेदवार छन् । सत्ता गठबन्धनले भने ’क’ मा जीवन आचार्र्य र ’ख’ मा प्रदेश मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ । 



नयाँ