arrow

यादववादको नाममा चुनाव जित्ने उपेन्द्र यादवको दाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चुनाव जित्न मुस्किल पर्ने भएपछि मानसिक तनावमा परेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्नको लागि दुई वटा रणनीति बनाएका छन् । 

यसपटक यादवले सप्तरी २ मा उम्मेदवारी दिएका छन् । २०७४ को प्रतिनिधि सभा र गत स्थानीय तहमा पार्टीहरुले ल्याएको भोटलाई आधार मान्ने हो भने यतिबेला उनी निकै कमजोर बनेका छन् । 

स्रोतका अनुसार उपेन्द्रले सप्तरी २ मा सबै पार्टीका यादव समुदायको  सहानुभूति लिएर चुनाव जित्न खोज्दैछन् । त्यहीकारण  अहिले उनले भोट माग्न जाँदा जात र समुदायको कुरा उठाउने गरेका छन् । 

पार्टीभित्र उनले यादववाद राम्रोसँग लागु गरेका छन् । पार्टीभित्र छानी छानी यादवलाई मात्र अवसर दिने गर्छन् । तर उनको यो ‘यादववाद’ को ढोंग पार्टीभित्र मात्र लागु भएको छ । 

पार्टी बाहिरका यादव उनको लागि प्रिय छैनन् । उदाहरणको लागि धनुषा ४ मा एमालेका रघुवीर महासेठविरुद्ध नेपाली कांग्रेसले महेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । तर उपेन्द्रले एउटा यादवविरुद्ध अर्को यादवलाई उठाएका छन् । यसबाट महासेठलाई चुनाव जित्न सजिलो बनाएका छन् । 

स्रोतले भन्यो, ‘रघुवीर महासेठलाई विजयी बनाउन उपेन्द्रले एउटा यादवविरुद्ध अर्को यादव उठाएका हुन् ।’ तर यादवले सोचेजस्तो रघुवीर विजयी हुने अवस्थामा छैनन् । 

किनभने धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव धेरै अगाडि छन् । धनुषा ४ मा उपेन्द्रले महाजन यादवलाई उठाएका छन् । 

धनुषा ४ मा देखिने गरी एमाले र जसपाले प्रतिष्पर्धा गर्दैछन् तर यादवको भित्री रणनीति भने यादवविरुद्ध अर्को यादव उठाएर महासेठलाई सहयोग गर्नु हो । 

 यादवले दोश्रो रणनीतिमा माओवादी केन्द्र र नेकपा (एस) को साथ लिने तयारी गरेका छन् । यसको लागि उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हारगुहार गर्न थालेका छन् । 

आफ्नो क्षेत्रमा माओवादी केन्द्र र एसको साथ खोज्न यादवले मधेस प्रदेश सरकारबाट उनले नेपाली कांग्रेसका मन्त्रीहरुलाई मात्र हटाएका छन् भने माओवादी र एसका मन्त्रीहरूलाई मधेस प्रदेश सरकारमा निरन्तरता दिएका छन् ।

तर उनको यो रणनीति पनि खेर जाने भएको छ । किनभने सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरलाई विजयी बनाउन माओवादीले निर्देशन दिएको छ । 

ठाकुरलाई विजयी बनाउन नेपाली कांग्रेस, माओवादीसहित गठबन्धनमा आबद्ध दलहरु एक जुट भई प्रचार शुरु गरेको लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।  ‘यस पटक हामी धेरै अगाडि छौं । हामी विजयी हुने निश्चित छ’ झाले भने । 

सप्तरी २ मा यादवले सोचे जस्तो माओवादी र एसले उनलाई साथ दिने अवस्था छैन । माओवादी र लोसपाका स्थानीय नेताहरूले केन्द्रमा गरिएको सहमति सप्तरी २ मा हुबहु लागु गर्ने प्रतिबद्धता गरेका छन् । यसमा अलिकति पनि तलमाथि हुन नदिने उनीहरुको भनाइ छ । 

स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ ।  गत वर्ष सम्पन्न स्थानीय तहमा वडाध्यक्षले ल्याएको मत परिणाम  हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार ठाकुर भन्दा धेरै पछि छन् । 

सप्तरी २ मा जसपाको भोट १४ हजार ४ सय ३ मात्र हो । त्यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाले ल्याएको भोट जोड्दा १२ हजार भन्दा धेरै भोटले जसपा भन्दा अगाडि छ ।   

गत स्थानीय तहमा सप्तरी २ मा नेपाली कांग्रेसले  १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा  माओवादीले ९ हजार ५ सय ३४ भोट ल्याएका छन् । 

सप्तरी २ मा एमालेको भोट ५ हजार ९ सय ५१ मात्र छ । यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५सय ४२ भोट ल्याएको छ ।  

त्यस क्षेत्रमा नेकपा (एस) को एस  २ हजार ४ सय ८ भोट छ ।  यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ४८ भोट छ । 

सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले  साथ दिएको छ ।  जसपा र एमालेको भोट जोड्दा करिब २० हजार भोट हुन्छ । 

तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ । 

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उम्मेदवारी दिएका छन् । सप्तरी २ बाट जनमत पार्टी दुई वटा स्थानीय तहमा विजयी भएको छ । 

यस आधारमा सप्तरी २ मा राउत पनि लोकप्रिय उम्मेदवार हुन् । गत स्थानीय तहमा जनमत पार्टीले वडाध्यक्षले ल्याएको मत परिणामको आधारमा राउतको भोट करिब ५ हजार छ । 

अर्कातिर सप्तरीका एक एमाले नेताका अनुसार एमालेको सबै भोट उपेन्द्रलाई जाने देखिँदैन । उनले भने, ‘गठबन्धन अघिसम्म एमालेलाई गाली गरेर नथाक्ने उपेन्द्र यादवलाई के आधारमा भोट दिने ?’

अर्कातर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीको सदासय सीके राउतलाई पनि छन् । सो अर्थमा भोट बाँडिने सम्भावना अधिक देखिएको छ । 

यी विविध कारणलाई मूल्याङ्कन गर्दै उपेन्द्र यादवले आफ्नो क्षेत्रमा ‘यादववाद’ को फण्डा निकालेको हुन सक्ने नेताहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ