arrow

बैतडीमा गठबन्धनका कुँवरलाई सहज, भण्डारीलाई चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
narendra-bahadur-kunwar-damodar-bhandari.jpg

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक मात्र क्षेत्र रहेको बैतडी जिल्लामा गठबन्धनतर्फका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर साझा उम्मेदवार रहेका छन् ।

यस्तै एमालेका तर्फबाट पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् । २०७४ को वाम गठबन्धनको निर्वाचनमा भण्डारीको सारथीका रुपमा रहेका कुँवर यस पटक भण्डारीसँगको प्रतिस्पर्धामा रहनुले चुनावी प्रतिस्पर्धा रोमाञ्चक हुने देखिएको छ ।

विसं २०७० र २०७४ मा दुई पटक विजय हासिल गरिसकेका भण्डारी अहिले ह्याट्रिक गर्ने दाउमा छन् भने कुँवर अहिले नेपाली कांग्रेसको बलियो साथ पाएर निर्वाचन जित्नेमा ढुक्क छन् ।

कस्तो छ चुनावी अंकगाणित

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार रहेका भण्डारीले ३९ हजार ५ सय ३४ मतसहित करिब ११ हजारको मतान्तरले जित हात पारेका थिए ।

भण्डारीका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार २ सय ९१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा बलियो मतान्तरले जित हात पारे पनि अहिले भने भण्डारीलाई गठबन्धनका कारण चुनौती रहेको छ ।

०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले २७ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो । कांग्रेसले २७ हजार ८७, माओवादी केन्द्रले १८ हजार ७ सय १९ र राप्रपाले ६ हजार ४ सय ५ मत प्राप्त गरेको थियो ।

यस पटक २०७९ को गत स्थानीय तहको निर्वाचनमा एमालेले ३५ हजार ४८ मत प्राप्त गरेको थियो भने कांग्रेसले ३३ हजार ६ सय ८३ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले १४ हजार ९ सय ९८, राप्रपाले २ हजार ४ र नेकपा एकीकृत समाजवादीले ३ हजार १ सय ४० मत प्राप्त गरेको थियो ।

भण्डारीलाई चुनौती कुँवरलाई सहज

गत प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको फाइदा भण्डारीलाई भए झैं अहिले नेपाली कांग्रेस लगायतका दलहरुसँगको गठबन्धनको फाइदा माओवादी केन्द्रका कुँवरलाई हुने देखिएको छ । त्यतिबेला नेपाली कांग्रेसका नरबहादुर चन्दलाई झैं अहिले एमालेका भण्डारीलाई चुनौती देखिएको छ ।

स्थानीय तहको मत हेर्दा पनि माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत कुँवरले पाउने हो भने उनको सहज जित हुने देखिन्छ । यसरी एमालेका उम्मेदवार भण्डारी पछारिने सम्भावना छ ।

यद्यपि, प्रतिनिधिसभा सदस्यको एक सिटका लागि बैतडीमा प्रमुख यी दुई प्रतिस्पर्धीसहित ११ जना चुनावी मैदानमा छन् । यसो हुँदा भण्डारीले प्रतिस्पर्धा बलियो पनि बनाउन सक्ने सम्भावना देखिन्छ । अन्यथा गठबन्धनको मत सहजै प्राप्त गर्ने हो भने चुनाव जित्न कुँवरलाई कसैले रोक्न सक्ने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ