arrow

प्रेम आलेको डोटीमा कस्तो छ चुनावी माहोल ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
prem-alea.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्व वन तथा वातावरण एवं संस्कृति, पर्यटन तथा उड्यन मन्त्री प्रेमबहादुर आले डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् । गत ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट विजयी बनेका आले यसपटक भने गठबन्धनका लागि नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई करिब १६ सय मतान्तरले पराजित गरेका आलेलाई यसपटक नेकपा एसको पकड कमजोर रहे पनि गठबन्धनको सहयोगले चुनाव जित्ने आशा रहेको छ ।

आलेबाहेक डोटीमा नेकपा एमालेकी गौरीकुमारी ओली पनि उम्मेदवार रहेकी छिन् । एमालेको बलियो पकड रहेको डोटीमा ओलीलाईसमेत  जितको दाबीका आधार देखिन्छन् ।

यी दुई प्रमुख प्रतिस्पर्धीबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्कासमेत प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् ।

एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

डोटीमा खासगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच बलियो प्रतिस्पर्धा रहेको छ । गत ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा आलेले वाम गठबन्धन हुँदा ३२ हजार ५ सय १० मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका वीरबहादुर बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेका थिए ।

०७४ को स्थानीय तहको निर्वाचन हेर्ने हो भने नेपाली कांग्रेसले डोटीमा सबैभन्दा बढी २८ हजार ३ सय १३ मत प्राप्त गरेको थियो । यस्तै नेकपा एमालेले २७ हजार ४ सय ६, माओवादी केन्द्रले ८ हजार १ र राप्रपाले ८ सय १ मत प्राप्त गरेका थिए ।

गत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३४ हजार ४७ मत प्राप्त गरेको छ । नेकपा एमालेले २४ हजार ९ सय १६, माओवादी केन्द्रले ७ हजार ७ सय ८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २ सय ५ र राप्रपाले ९ सय ८७ मत प्राप्त गरेको छ ।

स्थानीय मतको नतिजा हेर्ने हो भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको बलियो साथ पाउँदा आलेलाई चुनावमा जित हात पार्न सहज हुनेछ । अन्यथा नेकपा एकीकृत समाजवादी आफ्नो दलगत मत भने एमालेका तुलनामा निकै नै थारै रहेको छ ।

नेकपा एमालेसँग समेत बलियो मत रहेका कारण एमालेकी उम्मेदवार गौरीकुमारी ओली पनि चुनावी प्रतिस्पर्धामा बलियो रहने देखिन्छन् । अन्य उम्मेदवारहरुसमेत चुनावी प्रतिस्पर्धामा रहँदा गठबन्धनबाट नेपाली कांग्रेसको बलियो मत पाउँदा आलेलाई जितका लागि निकै सहज हुने देखिन्छ ।

वनमन्त्री र पर्यटन मन्त्री रहँदा निकै चर्चामा आएका र केही कामहरुसमेत गरेको प्रभाव पार्न सफल आलेको व्यक्तिगत प्रभाव पनि बलियो नै रहेको छ । यसरी डोटीमा आलेलाई चुनाव जित्न सहज र एमालेकी उम्मेदवार ओलीलाई बढी चुनौती रहने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ