- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिकल सेल रोग र थलासेमियाबाट पीडित बिरामीहरूको लागि उपचारमा क्रान्ति ल्याउन क्षमता राख्ने प्रयोगशालामा बनाइएका राता रक्त कोशिकाहरू परीक्षणका लागि मानव शरीरमा हालिएको छ ।
यसरी बनाइएको नयाँ प्रकारको रगतको सफल उत्पादनलाई चिकित्सा विज्ञानको लागि ठूलो कदमको रूपमा स्वागत गरिएको छ र वैज्ञानिकहरूले पहिलो क्लिनिकल परीक्षण शुरु गरेका छन् ।
रक्त कोशिकाहरूलाई एक अध्ययनका लागि केही स्वयंसेवकहरूको शरीरमा हालिएको छ । यसले वैज्ञानिकहरूलाई प्रयोगशालामा बनाइएका रक्त कोशिकाहरुको जीवन अवधि र अनुकूलता लगायतका कारकहरू बुझ्न मद्दत गर्नेछ ।
रातो कोशिका उत्पादनहरूमा एनआईएचआर रगत र प्रत्यारोपण एकाइका निर्देशक एशले टोयले पत्रकारहरूसँग बोल्दै रक्त कोशिकाहरू दाताहरूबाट लिइएको स्टेम सेलबाट विकसित गरिएको र यदि अध्ययन सफल भएमा उनीहरूले ठूलो मात्रामा आवश्यक पर्ने बिरामीहरूमा रक्तक्षेपण प्रक्रिया शुरु गर्न सक्ने बताएका छन् ।
'यो चुनौतीपूर्ण र रोमाञ्चक परीक्षण स्टेम सेलहरूबाट रगत निर्माण गर्नको लागि ठूलो कदम हो। यो पहिलो पटक एलोजेनिक डोनरबाट प्रयोगशालामा बढेको रगत ट्रान्सफ्युज गरिएको हो र हामी क्लिनिकल परीक्षणको अन्त्यमा कोशिकाहरूले कत्तिको राम्रो प्रदर्शन गर्दछ भनेर हेर्न उत्साहित छौं,' द गार्डियनले टोयलाई उदृधत गर्दै लेखेको छ ।
वैज्ञानिकहरूले जारी गरेको विज्ञप्तिअनुसार यी परीक्षणहरूमा प्रयोग गरिएको रगतको मात्रा ५ देखि १० मिलिलिटर रहेको र रक्तदातालाई कुनै रोग नरहेको सुनिश्चित गरिएको थियो ।
'संसारमा पहिलो यस्तो हाम्रो परीक्षण सफल भयो भने यसको मतलब यो हो कि हाल नियमित रूपमा लामो समयसम्म रक्तक्षेपण चाहिने बिरामीहरूलाई भविष्यमा कम रक्तक्षेपण आवश्यक पर्नेछ ।
जसले उनीहरूको हेरचाहलाई परिवर्तन गर्न मद्दत गर्नेछ,' ट्रान्सफ्युजन मेडिसिनका प्राध्यापक र युनिभर्सिटी अफ क्याम्ब्रिज र एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्ट (एनएचएसबीटी) का परामर्शदाता सेड्रिक गेभर्टले भनेका छन् ।