arrow

मतदाताको नजरमा डा शेखर कोइराला 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
shekhar-koirala-matadata.jpg

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ ।

नेपाली कांग्रेसका नेता कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरुको अठोट छ ।

मोरङ बूढीगंगा गाउँपालिका–७ का शम्भु चौधरी पहिलोपटक यसपालि मतदान गर्दैछन् । तर उनले डा. शेखर कोइरालालाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । ‘डा. शेखर कोइराला मलाई मन पर्ने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन मोरङकै विकास हुन्छ,’ उनी भन्छन्, उहाँ त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भइसक्नु भयो ।’

 चौधरी जस्तै अर्का युवा मतदाता सन्देश बजगाईं पनि कोइरालाको पक्षमा खुलेर लागेका छन् । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भए पनि यसपालि डा. शेखर कोइरालालाई नै मतदान गर्ने उनी बताउँछन् । 

गत निर्वाचन पराजित भएर पनि आफ्नो क्षेत्रका जनताको सुख दुःखमा सधैं साथ दिँदै आएका प्रभावशाली नेता कोइरालालाई मतदान गर्न उनले अन्य युवालाई पनि आग्रह गरे । ‘मोरङबाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने अब डाक्टर सा’बले नै हो,’ बजगाईं भन्छन्, ‘मोरङ ६ ले उहाँजस्तो नेता पाउनु गर्वको कुरा हो ।’

चौधरी र बजगाईं त उदाहरण मात्रै हुन्, यसपालि पटकपटक मतदान गर्ने धेरै युवाको रोजाइमा कोइराला परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यसपटक कोइरालाले जित्नेमा ढुक्क छन् । 

बूढीगंगाका श्यामराज राजवंशी गत असोजबाट ८१ वर्ष पार गरेका छन् । तर उनी कोइरालाको चुनावी प्रचारमा लौरो टेकेर हिंडिरहेका छन् ।

उनले भने, ‘शेखर कोइरालाजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जिताएर पठाए यस क्षेत्रको विकास हुने थियो ।’ 

कोइराला स्पष्ट वक्ता भएको राजवंशीको भनाइ छ । प्रचारमै भेटिएकी सविना दाहालले गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । 

यसैबीच, कोइरालाले मोरङ क्षेत्र नम्बर ६ का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुखदुःख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । 

मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा क मा जीवन आचार्य र ख मा केदार कार्की उम्मेदवार बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ