arrow

राजेन्द्र बजगाईं सहज स्थितिमा, बस्नेतलाई चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
rajendra-bajgai-ramsharan-basnet-.jpg

गोरखा । प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र १ मा बजगाईं र बस्नेतसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । 

गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन निकै बलियो छ । तर माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत ०७४ सालमा १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । 

तर यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईंलाई रहेकाले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् ।

गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका रामशरण बस्नेत र लाभको पद अहिलेसम्म नलिएका बजगाईंबीचको चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ । 

विगतका निर्वाचनहरू र ३० बैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको निकै मत कम छ । ३० बैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो ।

कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका छन् । 

त्यस्तै जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ ।

बजगाइँ कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाइँको दाबी छ । 

‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले भने । ‘पहिले देखिनै विकासका लागि राजनीति भन्ने नारा नै तय गरेको विकासलाई जनताको घरसम्म जोड्ने काममा लाग्ने दाबी बजगाइँको छ । रोजगारी, विकास र समृद्धिनै हो, बुढीगण्डकी आयोजना मेरो मुख्य प्राथमिकतामा रहेको छ,’ उनले भने ।

एमाले सरकार गोरखाको समृद्धिसँग जोडिएको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अलपत्र पार्ने काम गरेकाले अब सोही कार्यलाई अगाडि बढाउने आफ्नो प्रमुख काम भएकोसमेत बजगाइँले बताए । 

चीनको सिमानादेखि ठोरीसम्मको बाटो निर्माण गरेर व्यापारिक केन्द्र बनाउने र पर्यटन क्षेत्रको विकासमा मुख्य जोड दिने बजगाईंले बताए । गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् ।

बजगाईंले बालुवाटारमा होटल वर्णवास निर्माण गरिरहेका छन् । १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको केही महिनामै सञ्चालनको तयारी रहेको छ । बजगाईंले वर्णवास म्युजियम होटलको रुपमा निर्माण गरिरहेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएपछि एमालेका बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । चुनाव जित्ने उनको पनि दाबी छ । 

गोरखामा केही विकास निर्माणका योजना पनि ल्याएको बताए पनि सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर पछिल्लो समय उनी आलोचितसमेत भएका थिए ।

‘गठबन्धनको सरकार बनेको पनि ढेड वर्ष हुन लागिसक्यो तर जनताले नयाँपन र राहत अनुभूति गर्न पाएका छैनन्,’ बस्नेतले भने । मन्त्री हुँदा जिल्लाको भौतिक संरचनाको विकासमा कुनै कमी राखेका बताउँदै बस्नेत शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि थुप्रै काम गरेको जनताले मूल्यांकन गरेर मत दिने बस्नेत बताउँछन् । 

बुढीगण्डकी आयोजना निर्माणलाई प्राथमिकता दिनेसमेत बस्नेतको दाबी छ । विगतमा पनि उत्तरी दुर्गम बस्तीमा तीन महिनामा एकपटक जसरी पनि पुग्ने, दुर्गम विकट क्षेत्रको विकासमा आफू लागि पर्ने बताए पनि मन्त्री हुँदा समेत विकास निर्माणको काममा भने लाग्न सकेनन् । 

जसका कारण पनि उत्तरी क्षेत्रका मतदातासमेत बस्नेतसँग रुष्ट छन् । यता दक्षिण क्षेत्रमा पनि एमालेकै कार्यकालमा राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणलाई गति दिनुको सट्टा चिनियाँ कम्पनीलाई बुझाएको आरोप लागेको छ । 

एमालेको मतदातासमेत कम भएको क्षेत्रमा जनतासमेत रुष्ट हुँदा फाइदा कांग्रेसका उम्मेदवार बजगाईंले लिने देखिएको छ ।

अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपि अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ