- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बद्रीप्रसाद पाण्डे र नेकपा एमालेका तर्फबाट कर्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् ।
यद्यपि यी दुई बाहेक बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेका पाण्डे र एमाले सुदूरपश्चिमका सह इन्चार्जसमेत रहेका थापाबीच यस पटक बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
०७४ को निर्वाचनमा बाजुराबाट वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले चुनाव जितेका थिए । नेपाली कांग्रेसका उम्मेदवार कविराज पण्डितले करिब ४ हजार ८ सय कम मत प्राप्त गरेका थिए ।
यसपटक नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन भएकाले बलियो छ । तर एमाले एक्लैको पकड पनि उत्तिकै बलियो रहेको बुझिन्छ ।
०७४ को स्थानीय तहको मत परिणाम हेर्ने हो भने बाजुरामा एमालेले २२ हजार ५५ मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले ४ हजार ४ सय २५ मत प्राप्त गरेको थियो । यस्तै नेपाली कांग्रेसले २२ हजार ७ सय ९२ र राप्रपाले १ सय ८८ मत प्राप्त गरेको थियो ।
२०७९ को गत स्थानीय तहको निर्वाचनमा भने बाजुरामा नेकपा एमालेले बढी मत ल्याएको छ । यस स्थानीय तहको निर्वाचनमा एमालेले २७ हजार ८ सय ४४ मत ल्याएको छ ।
नेपाली कांग्रेसले २४ हजार ३ सय ४ र माओवादी केन्द्रले ४ हजार २ सय २९ र नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ८९ मत प्राप्त गरेको छ । यस्तै राप्रपाले १ सय ७२ मत पाएको छ ।
गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तीनवटै दलको मत ३० हजारको हाराहारीमा पुग्ने देखिन्छ । एमालेको मत भने करिब २८ हजार छ ।
बद्रीकाे इमान नै मुख्य हतियार
गठबन्धन हुँदा हुँदैसमेत नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले थापासँग बलियो प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । यसअघि राष्ट्रिय सभाका सदस्यसमेत रहेका पाण्डे व्यक्तिगत प्रभावसमेत रहेका व्यक्ति हुन् । थापा एमालेका बलिया नेता हुन् ।
यसरी हेर्दा बाजुरामा यी दुई उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
तर पाण्डेकाे प्रभाव भने धेरै छ । उनको इमान नै जितको आधार भएकाे बाजुरा कांग्रेसका नेताहरुको भनाइ छ ।
उनी राष्ट्रिय सदस्य भए पनि कतैबाट आर्थिक लाभ नलिएको बताइन्छ । उनी नेपाली कांग्रेसका सहमहामन्त्री हुन् ।
पाण्डे स्पष्ट वक्तासमेत हुन् । यिनै आधारमा पनि पाण्डेले राम्राे पकड बनाएको दाबी गरिएकाे छ ।