arrow

७० करोड र एमालेकै असहयोगले डेन्जर जोनमा गोकुल बाँस्कोटा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
gokul-baskota-parliament-2079-02-25.jpg
फाइल तस्बिर

काठमाडौँ। २०७४ सालको आम निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बढी लोकप्रिय मत ल्याएर काभ्रे क्षेत्र नम्बर-२ बाट निर्वाचित बनेका गोकुल बास्कोटा यस पटक भने डेन्जर जोनमा परेका छन्।

करिब तीन वर्षसम्म सञ्चार मन्त्रीको हैसियतमा सरकारको प्रवक्ता रहँदा उनी विपक्षीमाथि आक्रमण गर्ने नेताको छवि बनाए भने ७० करोड भ्रष्टाचार गर्नका लागि डिल गरिरहेको भिडियो सार्वजनिक भयो। उनले पदबाट राजीनामा दिए र त्यसको अनुसन्धानमा पनि नगराई ओलीले बाँस्कोटालाई जोगाए।

यो प्रकरणलाई नै विपक्षीले उनी विरुद्ध प्रचारको मुख्य मसला बनाएको छ र यसै कारण गोकुलको लोकप्रियतामा कमी आएको छ। अहिले यही ७० करोडको आरोप खेप्दै आएका बास्कोटालाई ओलीले पुरस्कृत गर्दै जनतामाझ पठाएका छन्। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काभ्रे-२ बाट उम्मेदवार बनेका बास्कोटालाई पुरानै नतिजा प्राप्त गर्न ठूलो चुनौती खडा छ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धन थियो, एमाले सिङ्गो थियो। तर अहिले परिस्थिति फेरिएको छ। यसअघिको सहयात्री दल माओवादी केन्द्रले अहिले नेपाली काँग्रेससँग गठबन्धन गरेको छ भने एमाले विभाजित अवस्थामा छ। पार्टी विभाजनको असर तुलनात्मक रूपमा अन्त भन्दा बढी काभ्रे जिल्लामा परेको छ।

बास्कोटाको प्रतिस्पर्धा ०५६ साल र ०७० सालमा जित निकाल्न सफल काँग्रेसका शिव हुमागाईँसँग हुँदै छ। काभ्रे-२ मा २०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट कृष्णप्रसाद सापकोटा र २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट विदुर सापकोटाले चुनाव जितेका थिए।

एमालेबाट चुनाव जितेका सापकोटाद्वय अहिले बाँस्कोटाका साथमा छैनन्। एमालेका प्रभावशाली नेता रूपमा लिने उनीहरू दुवै जना नेतासँग क्षेत्र नम्बर २ को क र ख का दुवै सांसद द्वय वसुन्धरा हुमागाईँ र लक्ष्मण लम्साल लगायतका अधिकांश नेता एकीकृत समाजवादीमा छन्।

यी नेताहरूको उपस्थिति नै बास्कोटालाई ठूलो चुनौती हुन सक्छन्। त्यस्तै माओवादीका समेत ठूला नेता रहेकाले गठबन्धनका उम्मेदवार हुमागाईँ बास्कोटालाई मुख्य चुनौती बनेका छन्।

बास्कोटा एक्लै चुनावी प्रतिस्पर्धामा रहेका बेला हुमागाईँलाई गठबन्धनको साथ छ। यता गोकुल बाँस्कोटालाई एमाले नै चुनौती बन्ने देखिन्छ। एमालेको प्रभावशाली नेताहरूले नै पार्टी छोडेर माओवादीमा प्रवेश गरेका छन्।

एमाले धुलिखेल नगर सह–इन्चार्ज एसाबहादुर तामाङले लगायत माओवादी केन्द्रतर्फ लागेका छन्। तामाङले लोकतान्त्रिक–बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको तामाङले बताए।

राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य रहेका एमाले खानि खोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा सङ्घ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय लामा, काभ्रे जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत् भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दीपक गोले रहेका छन्। चुनावको मुखमा यसरी नेता कार्यकर्ताले पार्टी छाडेपछि काभ्रेमा एमाले उम्मेदवारलाई थप समस्या भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ