arrow

गठबन्धनमा बसेर एमालेलाई सघाउने मन्त्री आचार्य बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
harisharan-acharya-gorkha.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन् । 

स्रोतका अनुसार मन्त्री आचार्य बर्खास्त भएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । उनीमाथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ । उनी नेपाल समाजवादी पार्टीका सांसद हुन् । 

उनी आगामी निर्वाचनमा पनि उम्मेदवार हुन चाहन्थे । तर पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दर्ता गरेर पछि फिर्ता लिएका थिए । सोही कारण उनी सत्तागठबन्धनसँग रुष्ट हुँदै आएका छन् ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् । 

‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’ 

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिए पनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ ।   आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ । 

सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’ 

आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा। बाबूराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो । 

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद्  छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए । 
 



नयाँ