arrow

ललितपुरमा राणाको पल्लाभारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
udaya-shamsher-election-ghardailo.jpg

ललितपुर । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक रहेको जिल्ला हो ललितपुर । तर यहाँका कतिपय क्षेत्र अझै दुर्गम र अविकसित छन् । चुनावमा विजयी गराएर पठाएका जनप्रतिनिधिले अविकसित क्षेत्रको विकासमा प्रभावकारी भूमिका नखेलेको भनेर मतदाता सदिऔंदेखि आक्रोश पोखिरहेका छन् । यसपाली पनि मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू सबैभन्दा धेरै समय ती अविकसित साथै काँठ क्षेत्रमा घुमिरहेका छन् । मतदाता आशा र अपेक्षा मिश्रित आक्रोश पोखिरेहेका छन् । 

प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रूपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदय शमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । उनीहरुले बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । राणाले ‘समुन्नत ललितपुर’को प्रष्ट खाका लिएर मैदानमा छन् भने सिलवालले ‘समृद्ध ललितपुर’को मुद्दा अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा(क)बाट र कांग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा(ख)मा साथ लिएर चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । ०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणाले उनै सिलवाललाई बदला लिने कसरतमा छन् । राणा चौथो पटक चुनाव भिड्दैछन भने सिलवाल दोस्रो पटक मैदानमा छन् ।

रोचक प्रतिस्पर्धा
ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरीत छ । अघिल्लो चुनावमा नेकपा माओवादीको साथ पाएका सिलवालले ६२२२ मतले राणालाई हराए । तर यस पटक कांग्रेसलाई माओवादी केन्द्रसहित नेकपा(एकीकृत समाजवादी), जनमोर्चालगायतका दलहरूको मोर्चाबन्दी छ । सो हिसाबले यसपाली राणा बलियो उम्मेदवारका रूपमा देखिएका छन् । मतदाताहरूले राणाको सोझै पल्लाभारी हुने अनुमान गरेका छन् । किनकि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको बलियो मत छ । 

गोदावरी नगरपालिका,माहाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका समेटिएको उक्त निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटा वडामा वडाध्यक्ष पदमा जितेको छ । ३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरूको पाएको मतान्तर हेर्ने हो भने राणाको विजयी निश्चित छ । किनकि सबै वडाको मत कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४ मत, एमाले वडाध्यक्ष उम्मेदवारले १८ हजार ९९३ मत, माओवादी केन्द्रका उम्मेदवारले ६१ सय ३३, राप्रपाको १७ सय ५७ मत पाएको देखिन्छ । एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २५ सय मत कटाएका छन् । यस हिसाबले गठबन्धनको मात्र मत २९ हजार ९८७ हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ । राप्रपाले एमालेलाई सहयोग गर्दा र गठबन्धनको मत थोरै विभाजित हुँदा पनि प्रतिनिधि सभामा राणाको पल्लाभारी सोझो अनुमान लगाउन सकिन्छ । 

राणाको दाउ
२०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारेका छन् । राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनलाई महत्त्वपूर्ण योजना ल्याउने बाचा गरेका छन् । ‘मैँले चुनाव जित्दा वा हार्दा होस निरन्तर काम गरेको छु । जनताको माझ पुगिरहेको छु । मेरा योजनाहरू समुन्नत ललितपुर बनाउने हो । भ्रष्ट्राचार न्यूनीकरण गर्दै पारदर्शी ढङ्गले जनताका आकाङ्क्षाहरूलाई पूरा गर्ने मेरो अन्तिम इच्छा हो’, उनले भने,‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो । म जित्ने उम्मेदवार हुँ । यस पटक सबै मतदाताले माया गर्नुहुनेछ ।’

‘मेरो क्षेत्रमा भौतिक पूर्वाधारको विकास चाहिएको छ । जनतालाई सुख दुःखमा साथ चाहिएको छ । कोरोनाको महामारीका बेला मैँले गरेको सहयोग अहिले मतदाताले सम्झिरहनु भएको छ । ०७० सालदेखि यता मेरो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन । मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ । यी सबै पृष्ठभूमिहरू हेर्दा मेरो जित निश्चित छ’, राणाको दाबी छ । आफू अर्थराज्यमन्त्री हुँदा प्रशस्त योजनाहरू भित्र्याएको उनको भनाइ छ । 

सिलवालको सवाल
राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रशासक सिलवालले आफूलाई स्थानीयवासी भएको बताउँदै राणालाई टुरिष्ट उम्मेदवारको आरोप लगाइरहेका छन् । स्थानीय तहमा खसेको मतलाई सङ्घमा तुलना नहुने पनि उनको भनाइ छ । उनले सदनमा हुँदा आफ्नो क्षेत्रका लागि थुप्रै कामहरू गरेको पनि दाबी गरिरहेका छन् । तर पाँच वर्षको कार्यकालमा देखिने गरी कुनै योजना नभित्रिएको स्थानीयको भनाइ छ । सिलवालले पाँचबर्षको अवधिमा सिक्ने मात्र गरेको, संसद्मा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको पनि आम मतदाताको बुझाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको पनि सिलवालमाथि आरोप छ । तर उनले आफूलाई बचाउ गर्दै आफ्नो क्षेत्रमा प्रशस्त योजनाहरू भित्र्याएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । अघिल्लो कार्यकालमा तयार भएका आधारहरूलाई आगामी दिनमा पुरा गर्ने आश्वासन दिइरहेका छन् । तर नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष, संविधान सभा सदस्य, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको उपाध्यक्ष साथै विभिन्न महत्त्वपूर्ण तह र तप्कामा बसेर काम गरिसकेका राणा बौद्धिक नेता भएका कारण युवाहरूले उनलाई विजयी गराइछाड्न घरदैलो अभियानलाई चर्काइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ