- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बारा- १ मा यस पटक पुरानै अनुहार प्रतिस्पर्धामा छन् । खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरी र एमाले नेता अच्युतप्रसाद मैनालीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । २०७४ सालमा पनि यी दुई नेता नै मैदानमा थिए । त्यस बेला यहाँबाट चौधरीले चुनाव जितेका थिए ।
चौधरीले २४ हजार ४ सय ५० मत ल्याउँदा मैनालीको मत २२ हजार ३० थियो । २०७४ मा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो । अहिले माओवादी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ । एमालेले जसपासँग गठबन्धन गरेको छ ।
त्यसैले स्वाभाविक रूपमा यहाँ मैनालीभन्दा चौधरी बलियो उम्मेदवार हुन् । प्रतिनिधिसभामा राप्रपाबाट भक्तबहादुर दर्लामी र जनमत पार्टीबाट मनोजकुमार यादव पनि उम्मेदवार छन् । वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा पनि सत्ता-गठबन्धन एमाले जसपा गठबन्धनभन्दा अगाडी छ ।
सत्ता गठबन्धनले त्यस बेला ४९ हजार ४ सय ८० मत ल्याएको थियो । एमाले-जसपा गठबन्धनले ३१ हजार ९ सय ५९ पाएको थियो । पहिले कांग्रेस एक्लै हुँदासमेत निर्वाचित भएका चौधरी यस पटक झन् सहज र फराकिलो जित निकाल्नेमा विश्वस्त छन् ।
एमाले-जसपा गठबन्धनका मैनालीको हुने सम्भावना कमै मात्र रहेको तथ्याङ्कले देखाउँछ । अधुरा रहेका विकास निर्माणलगायतका काम पूरा गर्न यसपाली पनि जनताले आफूलाई जिताउने चौधरीले बताए । ‘नागरिकताका समस्या समाधान, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र फाष्ट ट्र्याक निर्माण योजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने मेरो प्रमुख एजेन्डा हो,’ उनी भन्छन्, ‘संविधान र लोकतन्त्र रक्षा गर्न पनि मैले भूमिका खेल्नेछु ।’ शिक्षा, स्वास्थ्यमा पनि धेरै काम गर्न बाँकी रहेको उनले सुनाए ।
मैनालीले जनजीविका, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा आमूल परिवर्तनका लागि एमाले-जसपा गठबन्धनको जित आवश्यक रहेको बताउने गरेका छन् । उनले आफूले गर्न कामा १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् ।
स्थानीय तहसँग समन्वय गरी कालोबजारी नियन्त्रण गर्दै जनताका हितमा काम गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गर्ने, भूमिहीनका समस्या समाधान गर्ने, सार्वजनिक सम्पत्ति रक्षा गर्नेलगायत योजना मैनालीको छ ।