arrow

गगनले थालेको स्वास्थ्य केन्द्रको बालेनले गरे प्रशंसा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
balen-kathmandu-30-gagan.jpg

काठमाडौं । शहरी क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न पूर्व स्वाथ्यमन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नं ४ को ज्ञानेश्वरमा सञ्चालन गरेको  शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले अवलोकन गरेका छन् । 

बुधबार स्वास्थ्य केन्द्रमा पुगेका बालेनले एक घण्टा स्वास्थ्य केन्द्रमा बिताएका थिए । स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर साहले स्वास्थ्य केन्द्र राम्रो भएको प्रतिक्रिया दिए । 

महानगरले अन्य वडामा पनि यस्तै केन्द्र सञ्चालनको तयारीका लागि अवलोकन गर्न आएको बालेनले बताए । गगनले शुरु गरेको स्वास्थ्य केन्द्रको मोडल निकै राम्रो लागेको भन्दै उनले प्रशंसा गरे । ‘महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं ।’

कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापा तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्री हुँदा यो अवधारणा ल्याएका हुन् । 

यो स्वास्थ्य केन्द्रलाई अहिलेसम्म महानगरपालिकाले स्वामित्व नलिएकाले थापाले आफ्नो सांसदको तलब यही स्वास्थ्य केन्द्र्रमा दिएर चलाउँदै आएका छन् ।

बालेनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राखेका थिए । सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वार्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाइ कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिए ।

पौडेलेको कुरा सुनेपछि मेयर साहले महानगरले कति रकम खर्च गर्दा यस्ता केन्द्रहरु सञ्चालनमा ल्याउन सक्छ भन्ने विषयमा पनि गृहकार्य गरिरहेको प्रतिक्रिया दिए । 

स्वास्थ्य केन्द्रको सरसफाइ देखेर प्रभावित भएका साहले कर्मचारीलाई सधै यस्तै सफा हुन्छ ? भनेर जिज्ञासासमेत राखेका थिए । 

‘कस्तो सफा रहेछ । सफा देखेर मलाई त अचम्म लाग्यो’, उनले भने, ‘सँधै यस्तै सफा हुने हो ?

थापाका सल्लाहकार पौडेलले थपे, ‘सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै फोहर हुन्छ भन्नेहरुका लागि यो संस्था नमूना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’

उनीहरुको कुरा सुनेपछि मेयर साहले भुइँ मात्र नभइ भित्ताहरु पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसासमेत गरे ।

साहले निःशुल्क औषधि, फिजियोथेरापी, नागरिकहरुको स्वास्थ्य प्रोफाइल, प्रयोगशाला लगायतका विषयमा भइरहेको कामका विषयमा पनि चासो दिएका थिए ।

स्वास्थ्य केन्द्र गगन थापाको अगुवाईमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो । 

यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । 

एमडीजीपी चिकित्सकद्धारा नियमित रुपमा ओपीडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक–कान– घाँटी, सामान्य चिकित्सा, आयुर्वेद चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ । 

एक्सरे, ईसीजी, फिजियोथेरापी, मानसिक स्वास्थ्य परामर्शसहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ । 

वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ । 

हालसम्म १५ हजार जनाको स्वास्थ्य संकलन भइसकेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ