arrow

सङ्खुवासभा : माओवादीको साथ पाएका दीपक खड्का बदला लिने दाउमा

तेस्रो पटक गौतम र खड्काबीच आमनेसामने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
Deepak-khadka-congress.jpg

काठमाडौं । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लावासीमा कुनै उत्साह छैन । विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन् । 

गौतम नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् भने खानेपानी तथा सरसफाइ राज्यमन्त्री भइसकेका खड्का हाल कांग्रेसको जिल्ला सभापति छन् । दुवै नेता राष्ट्रिय राजनीतिमा बलियो पहुँच बनाएका नेता हुन् ।  ०७४ मा यहाँबाट बाम गठबन्धनका कारण गौतमले चुनाव जितेका थिए । खड्का यस पटक गौतमसँग त्यसैको बदला लिने दौडमा छन् । त्यसो त खड्का र गौतमबीच बदलाको शृङ्खला सुरु भएको ०७० देखि नै हो । 

दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक आमनेसामने हुँदा युवा नेता खड्काले गौतमलाई पराजित गरेका थिए । तर, ०७४ मा भने उनै गौतमले पराजित गरे, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा । तर, यस पटक भने माओवादी केन्द्रको समर्थन खड्कालाई छ । खड्का गठबन्धनको बलमा चुनावी परिणाम सहजै आफ्नो पक्षमा पर्ने विश्वासमा छन् । ०७४ मा बाम गठबन्धनबाट गौतमले ३२ हजार ७६९ मत ल्याउँदा कांग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए । जबकि ०७० मा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धामा हुँदा कांग्रेसका खड्काले ११ हजार ५५२ मत पाएका थिए भने एमालेका गौतमले १० हजार ९७३ र माओवादी केन्द्रका राजेन्द्र किराँतीले ४ हजार २९२ मत पाएका थिए । 

जिल्लामा अहिले मतदाताको सङ्ख्या थपिएको छ । हाल जिल्लामा एक लाख १६ हजार ५५४ मतदाता छन् । पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दसमध्ये कांग्रेसले छ स्थानीय तह जितेको थियो भने एमालेले चार वटा स्थानीय तह जितेको थियो । स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धनका उम्मेदवार खड्का जित नजिक छन् ।

 स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ एमाले पहिलो दल छ । एमालेले ३२ हजार ९११ मत पाएको छ भने कांग्रेसले ३० हजार ८४९, माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एकीकृत समाजवादीले एक हजार १०१ र जसपाले ४७१ मत पाएका छन् । यस आधारमा एमालेको भन्दा गठबन्धनको मत करिब छ हजारले अगाडि हुन जान्छ । 

कांग्रेस उम्मेदवार खड्का आफूले पाँच महिना अघि स्थानीय चुनावमा पाएको मतको संरक्षण मात्रै गरे पुग्ने अवस्था रहेको बताउँछन् । ‘उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु । यस पटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । फेरि म ०७४ मा पनि थोरै मतान्तरले मात्र पराजित भएको हुँ । मैले चुनाव हारेपनि मतदाताबाट टाढिएको छैन,’ उनले भने, ‘जसले जित्नुभयो, उहाँले पनि जिल्लामा राष्ट्रिय बजेट र योजना भित्राउन सक्नुभएन । उहाँप्रति एमालेमै निराशा छ । त्यसैले यस पटकलाई मलाई निकै सहज छ ।’  उनले गठबन्धनका कारण समेत आफूलाई सहज हुने दाबी गरे । 

खड्काले जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावी एजेन्डा अघि सारेका छन् । ‘मतदाताको चासो विकास निर्माणकै कुरामा छ । त्यसैले चुनावी एजेन्डा पनि त्यही छन्,’ उनले भने, ‘अहिले यहाँ सबैभन्दा महत्त्वपूर्ण एजेन्डा भनेको जोगबनी-किमाथाङ्का सडक हो । यो सडक जिल्लाको विकास र संमृद्धिकालागि माध्यम बन्ने अवस्था छ । भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दुरीमा जोड्न सकेको खण्डमा त्यसले हाम्रो जिल्लालाई मात्रै होइन, राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ । त्यसपछि जलविद्युत उत्पादन, पर्यटन प्रवर्द्धन, कृषिको व्यवसायीकरण, स्वरोजगारीको सिर्जना र आर्थिक समृद्धि हाम्रा मूल एजेन्डाहरू हुन् ।’

यता एमाले स्थायी कमिटी सदस्य एवम् सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पनि यस पटक आफैँले जित्ने दाबी गरे । ‘जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ । मैले एउटा उम्मेदवारको रुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु । किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिकोरुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के-के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूत गरेका छन्,’ गौतमले भने, ‘त्यसमाथि अहिलेको जुन गठबन्धन छ, त्यसमा तालमेल मिलेको छैन, सिद्धान्त मिलेको छैन । नेताले गठबन्धन गर्दैमा मतदाताको बीचमा गठबन्धन हुँदैन ।’ उनले मतदाताले भने आफूसँग गठबन्धन गरेको दाबी गरे ।

गौतमले समृद्ध सङ्खुवासभा निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएर अघि बढेको दाबी गरेका छन् । ‘हामीले गएको पाँच वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तर र पूर्णता नै अहिले मेरो चुनावी प्राथमिकताहरू हुन्,’ उनले भने, ‘यस पटक विगतमा मैले थालेका योजनाको समापनकै लागि मैले जित्ने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ