arrow

सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी बलियो स्थितिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
surkhet-purnabahadur-khadka-hridayram-thani-2079.jpg

काठमाडौं । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतका दुई वटै क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धन र एमालेबीच प्रमुख प्रतिस्पर्धाको स्थिति देखिएको छ । गठबन्धनको मत बलियो देखिँदा एमालेलाई दुवै क्षेत्रमा जितका लागि चुनौती हुने देखिएको छ ।

दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा कांग्रेसका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत मिल्दा चुनाव जित्न सहज हुने भएको छ । यसको ठीक विपरीत एमालेका उम्मेदवारलाई चुनौती थपिएको छ ।

सुर्खेत १

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत १ मा गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उम्मेदवार रहेका छन् । यस्तै नेकपा एमालेबाट ध्रुवकुमार शाही प्रतिस्पर्धामा रहेका छन् ।

यी दुई प्रमुख प्रतिस्पर्धीबाहेक थप विभिन्न ६ दलका उम्मेदवारहरु सुर्खेत १ बाट चुनावी मैदानमा रहेका छन् । 

०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका यिनै शाहीले ३६ हजार ७ सय ५९ मत सहित जित हात पारेका थिए । ०७४ मा पनि कांग्रेसका तर्फबाट पनि खड्का नै उम्मेदवार रहेका थिए । उनले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए ।

यसपटक भने लोकतान्त्रिक वाम गठबन्धनको फाइदा लिँदै कांग्रेसका उम्मेदवार खड्काले सुर्खेत १ मा जित हात पार्ने बलियाे सम्भावना रहेको छ ।

कांग्रेसका उपसभापतिसमेत रहेका खड्का  यसपालि व्यक्तिगत प्रभावका कारण पनि मत ल्याउने बताइन्छ ।

कस्तो छ चुनावी अंकगणित ?

सुर्खेत १ मा स्थानीय तहको मत हेर्ने हो भने ०७४ र अहिले २०७९ मा पनि कांग्रेस नै अघि रहेको छ । ०७४ मा कांग्रेसले सुर्खेत १ मा ३० हजार २ सय ५५ मत प्राप्त गरेको थियो । नेकपा एमालेले २८ हजार २ सय ७८ र माओवादी केन्द्रले ७ हजार ९ सय ९९ मत प्राप्त गरेको थियो ।

अहिले २०७९ को गएको स्थानीय चुनावमा पनि अघि नै रहेको कांग्रेसले ३६ हजार ९ सय २८ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ५ हजार ७५ र नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत ल्याएको छ ।

नेकपा एमालेले ३४ हजार ८ सय ४३ मत ल्याएको छ । गठबन्धनको मतसँग तुलना गर्दा एमालेका उम्मेदवार शाहीलाई यसपटक चुनाव जित्नै निकै जटिल हुने देखिन्छ भने, कांग्रेसका खड्कालाई सहज स्थिति रहेको छ ।

सुर्खेत २ 

सुर्खेत २ मा पनि गठबन्धनका उम्मेदवार हृदयराम थानीलाई सहज स्थिति देखिएको छ । थानीका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा देखिएका छन् । यी प्रमुख दुई प्रतिस्पर्धीबाहेक थप सात जना सुर्खेत २ मा चुनावी मैदानमा छन् ।

०७४ मा वाम गठबन्धन हुँदा सुर्खेत २ मा नेकपा एमालेका नवराज रावत ३७ हजार ४ सय ४७ मतसहित विजयी बनेका थिए। कांग्रेसका अहिलेकै उम्मेदवार थानीले भने २८ हजार ६ सय ४६ मत ल्याएका थिए ।

अहिले गठबन्धनको बलियो साथ पाउँदा थानीले ०७४ को बदला लिने देखिएको छ । स्थानीय तह निर्वाचन २०७९ को मत हेर्ने हो भने नेपाली कांग्रेसले सुर्खेत २ मा २९ हजार ५ सय ४० मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ११ हजार ६ सय ६१ र नेकपा एकिकृत समाजवादीले २ हजार ६२ मत ल्याएको छ ।

एमालेले ३० हजार ४ सय ६९ मत ल्याएको छ । एमाले आफ्नो दलगत मत सबैभन्दा बढी भए पनि गठबन्धन हुँदा कांग्रेसका उम्मेदवार थानी बलियो मतान्तरले अघि रहन सक्ने देखिन्छ ।

गठबन्धनका साझा कांग्रेसबाट उम्मेदवार रहेका थानीले माओवादी केन्द्रको बलियो मत पाउँदा एमालेका उम्मेदवार अमृतबहादुर बुढालाई पछ्याउँदै जित हात पार्ने सम्भावना बलियो देखिएको छ ।



नयाँ