arrow

बर्दियाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
bardia-election-sanjaykumar-gautam-suresh-panth.jpg

काठमाडौं । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियामा पनि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ को निर्वाचनमा बर्दिया १ बाट तत्कालीन वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार वामदेव गौतम नेपाली कांग्रेसका संजयकुरमा गौतमसँग पराजित भएका थिए ।

वामदेवलाई पराजित गर्ने तिनै संजयकुमार गौतम अहिले बर्दिया १ मा गठबन्धनका साझा उम्मेदवार रहेका छन् । उनी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै बर्दिया २ बाट ०७४ को निर्वाचनमा वाम गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका  सन्तकुमार थारुले कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए ।

अहिले बर्दिया २ मा गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका सुरेश पन्थ र नेकपा एमालेबाट पंकजसिंह राठौर चुनावी मैदानमा छन् ।

बर्दिया १
बर्दिया १ मा वामदेवलाई पराजित गर्ने संजयकुमार गौतमको जितको सम्भावना यसपटक पनि बलियो रहेको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई भने, गठबन्धनका कारण जितका लागि चुनौती बढी छ ।

स्थानीय तह निर्वाचन २०७९को मत हेर्ने हो भने बर्दिया १ मा कांग्रेसले ३४ हजार ६ सय २२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रसँग २४ हजार ३ सय ४१ र नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ५२ मत प्राप्त गरेको छ ।

नेकपा एमालेले बर्दिया १ मा सबैदल भन्दा बढी ३६ हजार ८ सय १२ मत प्राप्त गरेको छ । राप्रपासँग ३ हजार १ सय ९० मत छ । दलगत मत बढी भए पनि एमालेका उम्मेदवारलाई जितका लागि भने जटि स्थिति सिर्जित छ ।

कांग्रेसका गौतमले आफ्नो र माओवादी केन्द्रको मत पाउँदा निकै बलियो मतान्तर बनाउने सम्भावना छ । यद्यपि बर्दिया १ मा एक स्वतन्त्रसहित थप ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसो हुँदा एमाले र गठबन्धनका लागि कांग्रेसका उम्मेदवार गौतमबीच प्रतिस्पर्धा बलियो रहनेछ ।

जितका लागि एमालेका लक्ष्मणराज ज्ञवालीलाई चुनौती रहँदा कांग्रेसका गौतमलाई सहज हुने देखिन्छ ।

बर्दिया २ 
बर्दिया २ मा नेकपा एमालेबाट पंकजसिंह राठौर र गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट सुरेश पन्थ प्रतिस्पर्धामा छन् । यी दुई प्रमुख प्रतिस्पर्धीबाहेक दुई स्वतन्त्रसहित थप ६ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

एमाले भन्दा माओवादी केन्द्र बलियो रहेको बर्दिया २ मा सुरेश पन्थको सहज जितको आंकलन गर्न सकिन्छ ।  स्थानीय तह निर्वाचन २०७९को मत हेर्ने हो भने बर्दिया २ मा माओवादी केन्द्रले ३० हजार ७ सय ९८ मत पाएका छन् । नेपाली कांग्रेससँग ३८ हजार ३ सय ५२ र नेकपा एकिकृत समाजवादीसँग ७ सय ५८ मत रहेको छ ।

यस्तै बर्दिया २ मा एमालेले २३ हजार ३ सय २० मत पाएको छ । माओवादी दलगत भोटमै एमाले भन्दा अघि रहँदा र कांग्रेसको मत समेत पाउने स्थितीमा पन्थ बलियो मतान्तरले एमालेका पंकजसिंह राठौरसँग जित्ने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ