- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । वर्तमान गृहमन्त्री भएकै कारण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका खम्बा बालकृष्ण खाँणको चुनावी क्षेत्र चर्चामा रहेको छ ।नेकपा एमालेले घनश्याम भुषालको टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई समर्थन गरेका कारण रुपन्देही– ३ चर्चामा छ । एमालेले टिकट नदिएपछि अहिले स्वतन्त्रबाट रुपन्देही– १ मा उम्मेदवार बनेका भुषालले आफूलाई टिकटबाट वञ्चित गर्नकै लागि बोहोरालाई समर्थन गरिएको आरोप लगाउँदै आएका छन् ।
एमालेले राप्रपाका लागि छाडेका– ३ सीट मध्ये रुपन्देही ३ पनि एक हो, जहाँ गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता खाँण उम्मेदवार छन् । देशको शान्ति सुरक्षाको जिम्मा पाएको कमाण्डरसँग पूर्वपञ्चको पार्टीका नेताको चुनावी प्रतिस्पर्धाका कारण रुपन्देही– ३ चर्चामा आएको हो ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा दीपक बोहोराका लागि बालकृष्णले सिट छाडेका थिए । अहिले तिनै बोहोरा एमालेको समर्थनमा मैदानमा छन् ।
त्यतिबेला कांग्रेसको समर्थन प्राप्त गरेका बोहोरालाई पराजित गरेर तत्कालीन एमालेका उम्मेदवार घनश्याम भुषाल विजयी भएका थिए ।
भुषाल ३२ हजार ८ सय ६६ मत पाएर विजयी हुँदा राप्रपाका बोहराले २७ हजार ४ सय २२ मत पाएका थिए ।
२०७० सालको संविधान सभा निर्वाचनमा बोहोरा राप्रपाबाट विजयी भएका थिए । गत स्थानीय तहको वडागत मतका आधारमा कांग्रेस अग्रस्थानमा छ भने दोस्रोमा एमाले र तेस्रोमा राप्रपा छ ।
एमालेको पूरै मत राप्रपालाई गयो भने रुपन्देही– ३ मा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचनको वडा तहमा नेपाली कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८ र राप्रपाले १३ हजार ३९७ मत प्राप्त गरेका थिए ।
यस्तै जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत प्राप्त गरेका थिए ।
गृहमन्त्रीले विरलै हार्ने नेपाली इतिहास छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पराजित भएबाहेक गृहमन्त्रीले चुनाव हारेका छैनन् ।
खाँडको प्रभाव बढी भएका कारण पनि उनले सहज जित हासिल गर्ने देखिन्छ । त्यस्तै पाँच दलीय गठबन्धन भएका कारण पनि खाँड ढुक्क छन् ।