arrow

धनुषा २ मा चार जनाबीच कडा प्रतिस्पर्धा

logo
निरञ्जन साह,
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
dhanusha-2-election-2079.jpg

जनकपुरधाम । आगामी मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा मुख्य रुपमा चार जना नाम चलेका नेतहरुबीचको कडा प्रतिस्पर्धा रहेकाले चुनावी दौड रोमाञ्चक देखिएको छ । 

जनतासँग मत माग्ने क्रममा प्रचार प्रसारका लागि पूर्वीक्षेत्रका उम्मेदवार पश्चिमतिर र पश्चिमतिरका उम्मेदवार पूर्वतिरको गाउँमा पुगेर जनताको विश्वास आर्जनमा जुटेका छन् । 

धनुषा जिल्ला सदरमुकामदेखि पूर्वको औरही गाउँ पालिकाका निवासी नेपाली कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव शुक्रबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका गाउँबाट २० किलोमिटर टाढा कमला किनारको गाउँ नाथपट्टी, बिषरभोरा, हरिने, हथमुण्डा, लक्कर, सखुवा मड़ान तीरमा जनतामाझ गएका थिए । 

त्यही कमला किनारका नाथपट्टी गाउँका स्थायीबासी नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगडि़या यादवको गाउँतिर मत मागिरहेका भेटिए । 

कांग्रेसका उम्मेदवार यादवले संविधानको रक्षाका लागि वर्तमान लोकतान्त्रिक व्यवस्थाको सुदृढताका लागि र जनचाहना अनुसारको विकास, शान्ति तथा सुशासनका लागि काँग्रेसलाई जिताउन आवश्यक छ भने । 

क्षेत्र २ मा उनका प्रतिस्पर्धी को हुन् भन्ने जिज्ञासाामा यादवले  ‘मलाई कसैसंग कुनै प्रतिस्पर्धा नै छैन । मेरो प्रतिस्पर्धा म एक्लैसँग छ । जनताको घरदैलोमा आउँदा उनले माया दिएकै छन् । हामीले विगतमा गरेका कार्यहरुको मूल्यांकन जनताले गरेर नै मलाई मत हाल्नु हुनेछ र मेरो जीत सुनिश्चित हुनेछ’, भने । 

पाँच वर्षमा एकपछि अर्को गरी पाँच पार्टी त्यागेर चुनावी मैदानमा आउनेलाई जनताले चिनिसकेको उनले बताए । 

उनले शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या, बेरोजगारीको समस्या, सामाजिक विसंगतिहरु बढिरहेका छन् यी सबै यावत कुरहरुमा सुधारका लागि आफ्नो पहिलो प्रयास अबको पाँच वर्ष भित्रको पहिलो काम कर्तव्य हुने बताए । 

त्यहीं नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री उमाशंकर अरगडिया यादवको गाउँमा मत मागिरहेका थिए । उनले विकास र समृद्धिको पूरक पात्र एमाले नेता केपी शर्मा ओली भएकाले ओलीकै सिपाही भएर आएको बताए । अरगडिया यस अघि लोसपा नेपालमा रहेका थिए । 

क्षेत्रका जनताहरुलाई तपाईको सुखदुःखमा सँगसँगै रहने सही पात्र आफै भएको भन्दै उम्मेदवारहरुले भोट मागिरहेका छन् । 

धनुषा क्षेत्र नं २ अत्यन्त पिछडिएको क्षेत्र हो । शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधारको खाँचो छ । बाटो बनाउनु पर्ने, बनेको बाटो पिच गर्नुपर्ने जनताको मूलभूत आवश्यकता देखिएको छ । 

धनुषा क्षेत्र नं २ (क) प्रदेश सभा सदस्यका रुपमा एमालेसँग आबद्ध लखन दासले चुनावी प्रचार प्रसारको क्रममा पाँच वटा कुराहरु चुनाव जितेर गर्ने आश्वासन दिए । उनले एकात्मक शिक्षा प्रणाली अपनाउनु पर्ने, सीमाक्षेत्रका जनताको समस्या निकासका लागि भन्सार ऐन संशोधन गराएर कमिशनतन्त्रलाई निरुत्साहित गरी व्यवस्थित नाका गराउने, स्वास्थ्य, शिक्षामा सुधार, कृषि र सिंचाई सुविधाको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

क्षेत्र दुईमा नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा, नेकपा एमालेबाट जसपा नेपालमा प्रवेश गरेर चुनावी दौडका लागि टिकट लिएका गङ्गाराम यादवसहित तीन दर्जन भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ