- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुकुम । रुकुम पूर्वमा नयाँ अनुहारप्रति मतदाताको आकर्षण ह्वात्तै बढेको छ । खासगरी उम्मेदवार नहुँदा पनि व्यक्तिगत रुपमा पूर्वी रुकुमबासको लागि सुखदुःखमा साथ दिएका र व्यक्तिगत रुपमै खानेपानी, मठमन्दिर सडक निर्माणमा उल्लेख्य योगदान पुर्याएका धनबहादुर केसी (डीबी) को चर्चा रुकुम पूर्वभर छ ।
यसपटक उनले रुकुम पूर्व (ख) बाट प्रदेश सभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका केसी प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरै नै अगाडि देखिएका छन् ।
स्थानीय तहमा वडा अध्यक्ष पदमा दलहरूले ल्याएको भोट हेर्ने हो भने रुकुम पूर्वमा गठबन्धन धेरै नै अगाडि छ । यहाँ अरु उम्मेदवार धेरै नै पछि छन् ।
गत स्थानीय तहमा रुकुम पूर्वमा माओवादीको भोट ११ हजार ६ सय २१ छ । यसैगरी नेपाली कांग्रेसको भोट ६ हजार ५सय ३३ तथा एमालेको भोट ४ हजार ५ सय २१ छ । गत स्थानीय तहमा रुकुम पूर्व (ख) मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले पाएको भोट ३ हजार ८ सय ८५ छ ।
केसीको विजय नेपाली कांग्रेसका लागि पनि एउटा इतिहास बन्ने छ । पछिल्ला २ वटा स्थानीय तहको निर्वाचनमा रुकुम पूर्वको एउटा पालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छैन ।
२०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेस रुकुम पूर्वमा विजयी भएको थिएन । २०६४ तथा २०७० को संविधान सभाका दुई वटै निर्वाचनमा रुकुमबाट नेपाली कांग्रेस विजयी भएन ।
त्यसैले यो पटक केसी विजयी भए भने २३ वर्षपछि रुकुम पूर्वमा नेपाली कांग्रेसले झण्डा गाड्ने छ । २०५६ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका केशरमान रोका विजय भएका थिए ।
२०३९ सालबाट करिब ७ वर्षसम्म स्थायी शिक्षक भएर केसीले रुकुममै अध्यापन गरेका थिए । रुकुम पूर्वको विकास र सम्बृद्धिलाई केसीले आफ्नो चुनवी एजेण्डा बनाएका छन् । ‘यस क्षेत्रको सम्बृद्धि र विकास मेरो पहिलो एजेण्डा हो’ केसीले भने ‘म पदमा रहे पनि नरहे पनि यहाँका जनताको सुख दुखमा सधैं साथमा हुनेछ ।’
केसी रुकुम पूर्व (ख) मा नयाँ अनुहार हुन् तर नचिनिएका अनुहार होइनन् ।
यस क्षेत्रमा उनी निकै लाकप्रिय मानिन्छन् । खासगरी कसैलाई केही समस्या पर्यो भने केसीलाई नै सम्झने गर्छन् । उनी तल्लो तहमै जनतासँग परिचित छन् ।
रुकुम पूर्व (ख) मा प्रदेश सभामा ७ जनाले उम्मेदवारी दिएका छन् तर चर्चा भने केसीकै हुने गरेको छ ।
यसैगरी प्रतिनिधि सभामा रुकुम पूर्वमा एमालेबाट कैलाशकुमार मल्ल र माओवादी केन्द्रबाट पूर्णबहादुर घर्तीमगरले उम्मेदवारी दिएका छन् ।