arrow

चौथो पटक आमनेसामने : गुल्मीमा चन्द्र उदाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
chandra-bhandari-pradip-gyawali.jpg

गुल्मी । गुल्मी-१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथो पटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ । 

२०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए । २०७४ सालमा माओवादी-एमाले गठबन्धनसँग भण्डारी झिनो मतले पराजित भए । यस पटक पनि राजनीतिक परिवेश फेरिएको छ । त्यस बेला एमालेसँग मिलेको माओवादी यस पटक कांग्रेस नेतृत्वको गठबन्धनमा छ । भण्डारीको लोकप्रियता जिल्लामा अझै बढ्दो छ । त्यस कारण ज्ञवालीलाई चुनाव जित्न सहज छैन । 

प्रदेशसभामा पनि गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएका कारण गठबन्धनको भोट क्रस हुने सम्भावना छैन । मतदाताले २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी र २०७४ मा ज्ञवालीलाई जिताएकाले अब जित्ने पाले भण्डारीको रहेको कालीगण्डकी गाउँपालिकाका हरि काफ्लेले बताए । गुल्मी-१ मा कालीगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका तथा रेसुङ्गा नगरपालिकाको ७ देखि १४ नं वडासम्म पर्छन् ।
 
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भण्डारी ४ हजार मतले अगाडि छन् । ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ । यसै गरी चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ । ज्ञवाली जिल्लाबाट लगातार चुवान जित्ने र मन्त्री बन्ने नेतामा पर्छन् । उनी केन्द्रको राजनीतिमा सफल देखिए पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ । पार्टीको उच्च तह र सरकारमा रहँदा ज्ञवालीले जिल्लाको दीर्घकालीन योजनामा कुनै भूमिका नखेलेको मतदाता बताउँछन् ।

केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रूपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सुरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता रुष्ट बनेका छन् । ज्ञवालीमाथि पार्टी विभाजनका लागि भूमिका खेलेकोसमेत आरोप छ ।

अघिल्लो चुनावमा पराजित भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको रहँदै आएको स्थानीय बताउँछन् । संविधानसभा सदस्य निर्वाचित भएपछि भण्डारीको पहलमा सालझण्डी-खर्जयाङ-शान्तिपुर सडक सुरु भएको थियो। 

बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरोका कारण बर्सेनि ठूलो जनधनको क्षति भएपछि विकल्पका रूपमा सालझण्डीबाट दुई लेनको सडक विस्तार भएको थियो । रेसुङ्गा विमानस्थल निर्माण, रिडी-बुर्तीवाङ तथा चोरकाटे-शान्तिपुर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले चुनावमा मूल्याङ्कन गर्ने बताएका छन् । भण्डारी नेतृत्वमा सुरु भएको अखण्ड लुम्बिनी आन्दोलनका कारण तराईबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो । 

राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीतिभन्दा माथि उठ्न सक्ने भण्डारी भ्रष्टाचार विरोधी अभियन्ता रूपमा पनि परिचित छन् । प्रदेशसभा ‘क’ मा कांग्रेस नेता घनेन्द्र कार्की र एमाले चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता परशुराम पाण्डेको भिडन्त छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ