arrow

ओज बढाउँदै विश्वप्रकाश शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
bishwa-prakash-sharma-profile.jpg

काठमाडौं । अहिलेको निर्वाचनमा झापा क्षेत्र नम्बर १ लाई रुचीपूर्वक चर्चा गर्न थालिएको छ । हुनत झापाका सबै क्षेत्रमा चर्चित अनुहारहरु रहेका छन् । त्यसमा पनि क्षेत्र १ मा स्पष्ट वक्ता भएका कारण पनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्रलाई रुचीपूर्वक हेरिएको छ । 

शर्मासँग पूर्वकानूनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  प्रतिनिधि सभा सदस्यका लागि यी दुई मुख्य प्रतिस्पर्धीसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् । महामन्त्री शर्मा दुईपटक चुनाव हारेको क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । 

पटकपटक प्रत्यक्ष निर्वाचनको अनुभव बटुलेका शर्मासँग राजनीतिक हिसाबले अपरिपक्व नेता खरेलको प्रतिस्पर्धाले केही हदसम्म सहज बनाएको छ । कानून मन्त्री हुँदा होस् वा सरकारका महान्याधिवक्ता हुँदा होस् दुवै पटक विवादमा रहेका खरेलको प्रतिस्पर्धाले शर्मालाई सहज बनाएको हो । 

२०७४ सालको चुनावमा झापा १ मा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार (राम) कार्कीले जितेका थिए । कार्की ३६ हजार १७३ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कार्कीका निकटतम प्रतिद्वन्द्वी विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए । 
उनीहरूसहित सात प्रतिस्पर्धी चुनावमा उत्रिएका थिए । मंगोल नेसनल अर्गनाइजेससन, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावमा उम्मेदवार उठाएका थिए । 

अन्य पाँचवटा पार्टीको मत १ हजार ३ सयभन्दा कम आएको थियो । तीन जना स्वतन्त्र उम्मेदवार पनि थिए । तर अहिले शर्मासँग खरेल प्रतिस्पर्धामा आएका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गर्दा ओलीको पक्षबाट वकालत गर्ने खरेल नै अहिले शर्मासँग चुनावी प्रतिस्पर्धामा आउँदा प्रतिगमनका मतियार नै आएको भन्दै मतदाता पनि सहज नदेखिएको बताइन्छ ।  

उनले ओलीको संसद विघठनको पक्षमा वकालत गरेकै कारण जनताले हेर्ने दृष्टिकोण बदलेका छन् । त्यतिमात्र होइन उनी ओलीले टपक्क टिपेर माथि उठाइएको नेताको रुपमा परिचित भएको आरोप एमालेकै नेताहरुको छ । 

आफ्नै पार्टीका नेताहरुसमेत सन्तुष्ट नभएका बेला अग्निका लागि अहिलेको चुनाव अग्निपरीक्षा जस्तै भएको छ । २०७९ बैशाख ३० को स्थानीय तहको मत हेर्दा एमाले पहिलो शक्ति भएको थियो । 

स्थानीय तहमा आएको भोटका आधारमा हेर्दा गठबन्धनका सबै दलको मत  जोड्दा पनि एमालेको भन्दा कम छ । तर पनि पार्टीभित्र ‘ओभर टेक’ गरेर विभिन्न किसिमको लाभ लिएका खरेललाई यसपटक पार्टीभित्रबाट सहयोग हुने अवस्था नभएको एमालेकै नेताहरुको भनाइबाट पनि खरेललाई अप्ठेरो छ । 

समानुपातिक सांसद, कानून मन्त्री, महान्यायाधिवक्ता जस्ता लाभको पदमा रहेका अग्निले जिल्लाका नेता कार्यकर्तालाई पनि वास्ता नगरेका कारण उनी झापाको तल्लो तहसम्म पनि भिज्न सकेका छैनन् । 

जनतामाझ भिजेका एमाले नेता रविन कोइरालालाई पछाडि धकेलेपछि अग्निको यात्रा कठिन भएको हो । 

स्थानीय निर्वाचनमा त्यस क्षेत्रमा एमालेको पक्षमा ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ५ हजार ९२२, माओवादी केन्द्रको ३ हजार ९०५ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पक्षमा १ हजार २५२ मत आएको छ । 

स्थानीय तहमा सबै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए ।  गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको मत जोड्दा २९ हजार २१६ हुन्छ । अहिले सत्ता गठबन्धनका चार दल एक ठाउँमा र नेकपा एमाले तथा राप्रपा एक ठाउँमा छन् । 

स्थानीय तहमा एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १५४ हुन्छ । तर पनि झापा ५ मा बाहेक राप्रपाले एमालेलाई सहयोग गर्ने परिस्थिति निर्माण नभएको झापाका एक राप्रपाका नेताले बताए । 

उनका अनुसार एमालेभित्रै बेमेल रहेका कारण राप्रपाले सहयोग गर्नुको औचित्य नभएकाले पनि अहिलेको परिस्थिति अग्नि खरेलको विपक्षमा रहेको राप्रपाका स्थानीय नेताहरुले बताएका छन् । 

झापा १ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट खरेल, कांग्रेसबाट शर्मा मुख्य प्रतिस्पर्धी हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट राधा थापा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ओलीन राजवंशी, हाम्रो नेपाली पार्टीबाट ठण्डबहादुर अधिकारी प्रतिनिधि सभाका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

त्यसैगरी नेपालका लागि नेपाली पार्टीले मुकुन्द दाहाल, मंगोल नेसनल अर्गनाइजेसनले सन्तोष तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पदममाया लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहाङ जबेगु, नेपाल जनता पार्टीबाट रामकुमार काफ्लेलाई चुनावी प्रतिस्पर्धाका लागि अगाडि सारेका छन् । 

त्यसैगरी जनसमाजवादी पार्टीका तर्फबाट रमेश बास्तोला, राप्रपाबाट ओमनाथ भण्डारी, स्वतन्त्रबाट विकास राजवंशी, केन्द्रकुमारी दाहाल, विदुरकुमार खतिवडा चुनाव लड्दैछन् । 

जसले गर्दा पनि एमालेको मतमा भारी कटौती हुने अवस्था आएको र शर्मा आफैं राष्ट्रिय राजनीतिमा रहेकाले पनि जनताको अपेक्षा अहिले शर्मातिर लोभिएको छ । 

विश्वप्रकाशको राजनीतिक यात्रा
विश्वप्रकाश शर्मा २०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी २०३७ सालमा झापामा विद्यालय तहमा पढ्न शुरु गरेदेखि नै राजनीतिमा लागेका थिए । 

२०४० सालमा झापाको धुलाबारी माध्यमिक विद्यालयमा नेविसंघ एकाइ सभापति भएर उनले राजनीति शुरु गरेका थिए । 

शर्मालाई २०४१ सालमा कक्षा ९ मा पढ्दा पहिलोपटक प्रहरीले पक्राउ गरेको थियो । उनी २०४७ सालमा नेविसंघ झापा जिल्ला सभापति भएका थिए । त्यसपछि उनी २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बने । 

शर्मा केन्द्रीय सदस्य हुँदै २०५३ सालमा नेविसंघ महामन्त्री बनेका थिए । त्यसै सालमा महामन्त्री हुँदै केन्द्रीय उपसभापतिसमेत भएका थिए । 

विद्यार्थी संघमा सदस्यबाट उनी महामन्त्री, उपाध्यक्ष हुँदै नेविसंघको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

उनी २०५७ सालमा विद्यार्थीको नेतृत्वमा निर्वाचित भएका हुन् । पार्टी नेता उत्पादन गर्ने ठाउँ मानिने नेविसंघमा उनले २०५९ सालमा नवौं महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।  

विद्यार्थी राजनीतिको नेतृत्व लिनासाथ २०५७ सालमै उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । 

नेविसंघको राजनीतिपछि शर्माले पार्टीको जिल्ला राजनीतिमा प्रवेशको प्रयास गरेका थिए । 

२०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । शर्माले २०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका थिए । 

त्यसैगरी उनी २०७६ सालमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख पनि बनेका थिए । प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएपछि राष्ट्रिय रुपमै चर्चामा आएका थिए । 

उनी २०७० र २०७४ सालमा भएको आम चुनावमा झापामा पराजित भए पनि कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि झापाली जनतामाझ उनको परिचय नै बदलिएको थियो ।
 



नयाँ