arrow

पहिलो पटक चुनाव जित्नेमा खम्बिर ढुक्क 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
khambir-garbuja-myagdi-congress.jpg

काठमाडौँ । म्याग्दी कांग्रेस जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) तेस्रो पटक संसदीय चुनावी मैदानमा छन् । दुई पटक हार व्यहोरेका गर्वुजालाई यस पटक सत्तारूढ दल माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादीको साथ छ । 

म्याग्दीमा नेकपा एमाले यस पटक ह्याट्रिकको दाउमा छ । उता कांग्रेस भने एमालेको ह्याट्रिक योजना विफल पार्न योजनासहित मैदानमा छ । २०५६ सालमा कांग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले यहाँबाट चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमाले मङ्सिर ४ मा पनि जित निकाल्ने दाबीसहित मत मागिरहेको छ । 

एमालेबाट प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार छन् । २०७० को निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्वुजा २०७४ सालमा एमालेकै भूपेन्द्र थापासँग २ हजार बढी मतले पराजित भए । गत स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले ८ हजार ५ सय ९२ मत ल्याएका छन् । यसरी हेर्दा सत्ता गठबन्धन निकै अगाडी देखिन्छ । 

श्रेष्ठ र गर्वुजा राजनीतिमा निकै चतुर मानिन्छन् । गर्वुजा बेलायती सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा सक्रिय छन् । २ वटा चुनावमा पराजित भए पनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको, जनताको काम गरेको र गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्वुजाको भनाइ छ ।

गर्वुजा भन्छन्, ‘चुनाव हारे पनि जनताको सेवामा लागिरहेको छु । विचलित भएको छैन । अब संसद्मा गएर नागरिकका समस्या राख्छु । जिल्लाको विकासमा योगदान दिन्छु भनेर मत मागिरहेको छु ।’ टोल स्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको भएकाले चुनाव जित्ने गठबन्धनको चुनाव परिचालन समिति संयोजक कर्णबहादुर भण्डारीले दाबी गरे । 

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र छन्। उम्मेदवारहरू ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्रे गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उम्मेदवारको प्रतिबद्धता छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ