arrow

एमाले-माओवादी गठबन्धन हुँदा समेत रौतहट ४ जितेका तिमिल्सिना फेरि मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
devprasad-timalsena-nomination.jpg

रौतहट । रौतहट-४ मा यसपालिको चुनाव रोचक भइरहेको छ । सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनसहित विभिन्न पार्टी र स्वतन्त्रले यो क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना उम्मेदवार छन् । एमाले-जसपा गठबन्धनबाट एमालेका उद्धवप्रसाद रेग्मी उम्मेदवार छन् ।

यहाँ राप्रपाबाट रूपलाल राय यादव उम्मेदवार छन् । दलका उम्मेदवारलाई ८ जना स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । कांग्रेसबाट टिकट नपाएपछि उम्मेदवारी दिएका अजयकुमार साह पनि हुन् । रौतहट-४ मा प्रत्येक चुनावमा नयाँ उम्मेदवारले जित्ने गरेको इतिहास छ । तर यो इतिहास तोडेर आफू नै पुन: जित्ने दाबी सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनाको छ । 

‘२०७४ मा एमाले-माओवादी गठबन्धन हुँदा पनि यो क्षेत्रमा मैले जितेको हुँ । विकास निर्माणका अधुरा काम पूरा गर्न पनि यसपाली जनताले फेरि जिताउनुहुन्छ भन्ने विश्वास छ,’ तिमल्सिनाले चुनावी कोण सभाहरूमा भन्ने गरेका छन्, ‘धेरै काम गर्न बाँकी छ।’
उनले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने भएकोले विकास निर्माणका काम गर्न सजिलो हुने पनि बताएका छन् ।

‘२०७४ मा मैले चुनाव जितेँ तर केन्द्रमा वामगठबन्धनको सरकार बन्यो । सोचेजस्तो काम गर्न सकिएन,’ उनले भने, ‘यसपालि तलदेखि माथिसम्म हाम्रो गठबन्धनको सरकार बन्छ । विकास निर्माणका काम गर्न सजिलो हुन्छ ।’

एमाले-जसपाबाट साझा उम्मेदवार उद्धवप्रसादले क्षेत्रको विकासका लागि आफूहरूलाई जनताले जिताएर पठाउने विश्वास व्यक्त गरे । उनले देश विकासका लागि एमाले नेतृत्वको गठबन्धनलाई मत दिनुपर्ने बताए । ‘यो क्षेत्रको विकासका लागि एमाले उम्मेदवारलाई जनताले जिताउनेछन् भन्ने विश्वास छ,’ उनले भने ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार साहले सत्ता र एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। गत वैशाखमा स्थानीय चुनावमा मेयरको टिकट मागेका थिए तर कांग्रेसले दिएको थिएन। त्यसै बेलादेखि रूष्ट उनी यसपालि पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यहाँ तिमिल्सिना, रेग्मी र स्वतन्त्र उम्मेदवार साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। साहले यो क्षेत्रमा जनताले आफूलाई जिताएर पठाउने बताउने गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावको मतअनुसार यहाँ सत्ता गठबन्धनको धेरै छ । कांग्रेस नेतृत्वको गठबन्धन ५५ हजार २ सय ७१ मतसहित अगाडि छ । एमाले गठबन्धन १९ हजार १ सय ९ मत छ । यो मत कायम राख्न सके सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनाको जित सुनिश्चित जस्तै छ । तर यो क्षेत्रमा २०४८ सालदेखि दोहोर्‍याएर कसैले पनि जितेको इतिहास नभएकाले तिमल्सिना पनि ढुक्क हुन सकिरहेका छैनन् । 

तिमल्सिना तेस्रोपटक उम्मेदवार भएका हुन्। २०७४ मा उनले एमालेका रामकुमार भट्टराईलाई हराएका थिए । हिजोआज उम्मेदवार चुनावी अभियानका क्रममा घरदैलोमा पुगेर आफ्ना कुरा मतदातालाई सुनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ