arrow

न चुनाव लाग्छ न चाडपर्वले नै छुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
election 2079.jpg

डुम्रे ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, डुम्रेलाई व्यस्त राजमार्ग मानिन्छ । यस राजमार्गमार्फत् स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र पोखराबाट काठमाडौँं, विराटनगर, महेन्द्रनगरलगायत विभिन्न स्थानमा पुग्ने हजारौँं सवारीसाधन दमौली, डुम्रे, दुलेगौँंडा, आँबुखैरेनी भएर आवतजावत गर्दछन् । यी सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई बिक्री गर्न हातमा सामान बोकेर सडकमा व्यापार गर्ने व्यक्ति झ्याल झ्याल र ढोका ढोका पुग्छन् । 
    
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मिति नजिकिँदै आउँदा पनि उनीहरु बेखबर छन् । यता निर्वाचनको माहोल तातिएको छ भने ती सडक व्यापारी हातमा बोकेको सामान समयमै कसरी बिक्री गर्न सकिन्छ  भन्ने चिन्तामा दौडिरहेका हुन्छन् । 
    
चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आउनुभएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन् । “चुनाव आयो भन्छन् । खै कहाँ आयो चुनाव ? भोट दियो नेताले जित्छन् । न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,” उनी भन्छिन्,  “घरमा भोट माग्न आएका थिए नेताहरु भन्थे केटकेटीले । हामीलाई भने आफ्नै चटारो छ । चुनावमा जानुभन्दा यहाँ सामान बिक्री गरे एक छाक चामल त किन्न सक्छौंँ । चुनावमा गयो हाम्रो साँझमा चुलोे बल्दैन । नेताले चुलो बाल्न मद्दत गर्दिने होइनन्,” कुमाल भन्छिन् । 
    
उनी जस्तै तनहुँको भानु नगरपालिका–१ साजबोटेका २५ वर्षीय राजु परियार भन्छन्, “नेताहरु भोट माग्न हिँडेको देखिन्छ । हामीलाई केको मतलब भयो र न  उनीहरुले हाम्रो  चुलो बाल्न एक मुठी चामलको व्यवस्था नै गरिदिन्छन् । हाम्रो दुःख बुझ्दैनन् नेताहरुले । नेताले बुझ्ने भए त हामीजस्ता सुकुम्वासीको समस्या बुझेर समाधान गरिदिन्थे होलान् नि ।”
    
“हामीलाई यो धुलाम्मे सडकमा बसको पछि लागेर दौडिन रहर छैन नि । कसले बुझिदिने हाम्रो समस्या । आफ्नो समस्या आफैँसँग छ । पीडा पोखेर समाधान हुँदैन । जागिर गर्न पाउने भए त हामी पनि सडकमा दौडिने थिएनम नि,” उनी बताउँछन्, “हातमा सामान बोक्यो दौडियो । जसैगरी साँझमा चुलोमा आगो पनि बाल्नुपर्छ ।”
    
“हाम्रो समस्या सधैँ ज्यूँका त्यूँ छ । हामीजस्ता विपन्नको कुरा न त सरकारसम्म पुग्छ, न त नेताले हाम्रा दुःखका दिन फेर्दिन्छन् । हामी यही बाटोमा झण्डा फराएर गाडी हेर्दै सामान बेच्न दौडिरहन्छौंँ,” परियार भन्छन् । चुनावको दिनमा सार्वजनिक बिदा हुनुका साथै सवारीसाधनको आवतजावत बन्द हुनेहुँदा मतदानका लागि भने सोच्नैपर्ने अवस्था रहेको उनी बताउँछन् । 

यस्ता विपन्न वर्गको दुःख र समस्या समाधान गर्ने निष्ठावान उम्मेदवार वा नेताको आवश्यकता रहेको उनीहरुको अपेक्षा छ । अहिले घरदैलो अभियान चलिरहेको छ । सडकमा पनि मतदाता दौडिरहेका छन् तर ती सडकमा सामान बोकेर दौडिने विपन्न वर्गतर्फ उम्मेदवारको ध्यान भने खिचिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ