arrow

रुकुम पूर्वमा डीबी केसीको पक्षमा माहोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
dhanbahadur-kc-db-kc-rukum-east.jpg

काठमाडौं । रुकुम पूर्वका दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरु बलिया देखिएका छन् । एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वको प्रदेश सभा (क) र प्रदेश सभा (ख) दुवैमा गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ ।

रुकुम पूर्व प्रदेश सभा (क)

रुकुम पूर्व प्रदेश सभा (क) मा गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली चुनावी मैदानमा रहेका छन् भने नेकपा एमालेबाट तेजेन्द्र बुढा मगर चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट पुरा पुन र स्वतन्त्रबाट सुरुल पुन र दुत कुमार पुन मगर पनि मैदानमा छन् ।

यद्यपि मुख्य प्रतिस्पर्धामा भने माओवादी केन्द्रका तेजबहादुर ओली र एमालेका तेजेन्द्र बुढा मगरबीच हुने देखिन्छ । माओवादी केन्द्रको बलियो पकड रहँदा कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगै जनमोर्चाको मतसमेत पाउँदा ओलीलाई जित्न सहज हुने देखिएको छ । एमालेका बुढामगरलाई चुनौती हुने देखिन्छ।

०७४ को निर्वाचनमा रुकुम पूर्व (क) बाट प्रदेश सभा सदस्यमा वाम गठबन्धन हुँदा माओवादी केन्द्रका तेजबहादुर वलीले ५ हजार ४ सय २७ मतसहित जित हात पारेका थिए भने कांग्रेसका दुतकुमार पुन मगरले २ हजार १ सय ४४ मत ल्याएका थिए ।

रुकुम पूर्व (ख)

रुकुम पूर्व (ख) मा गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका धनबहादुर (डीबी) केसी रहेका छन् । उनलाई एमालेकी भावना बुढाथोकीले टक्कर दिँदै छिन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढा, राप्रपाका चन्द्र समाल र स्वतन्त्रबाट केशव रावल, नरहरि खड्का र पूर्णजंग सिंह पनि चुनावी मैदानमा छन् ।

अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले बागी उम्मेदवार दिएपछि उनलाई पार्टीले कारबाहीसमेत गरेको छ ।

यहाँ स्वतन्त्रबाट रावलको उम्मेदवारी गठबन्धनका उम्मेदवार डीबी केसीलाई टाउको दुखाई बनेको छ । माओवादी केन्द्रको मत रावललाई गएको अवस्थामा यहाँ एमालेकी भावना बुढाथोकीलाई जित्न सहज हुने देखिन्छ ।

तर माओवादी पार्टी कार्यालय भने भोट गठबन्धनलाई नै जाने दाबी गरिरहेको छ । त्यस्तै केसीको स्थानीयसँगकाे प्रभाव राम्रो भएका कारण उनलाई जित हासिल गर्न सहज हुने पनि बताइएको छ । माहोल केसीकै पक्षमा गएकोसमेत बताइएको छ ।

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा रुकुम पूर्व (ख) बाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले ५ हजार ८ सय १६ मतसहित जित हात पारेका थिए भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ