arrow

ओलीको प्राथमिकतामा पूर्व राप्रपा र लोसपा, कटिबद्ध एमाले नेताहरु रुष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्व नेताहरुलाई छानी छानी अवसर दिएका छन् ।  

एमालेका पुराना र त्यागी नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउँदै ओलीले राप्रपा  तथा लोसपाबाट हालै प्रवेश गरेका नेताहरुलाई छानेर खोजी खोजी अवसर दिएका छन् । 

सल्यानमा नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार दिएका राजेन्द्रवीर राय उम्मेदवारी मनोनयन गर्नुभन्दा १५ दिन अघिसम्म राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष थिए । 

पोहर साल सम्पन्न राप्रपाको महाधिवेशनमा उनले राप्रपाको केन्द्रीय सदस्य पदमा चुनाव हारेका थिए । राप्रपाको केन्द्रीय सदस्यमा चुनाव हारेका रायलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा भित्र्याए र केन्द्रीय उपाध्यक्ष बनाए । 

राप्रपा नेपालको उपाध्यक्ष भएको केही दिनपछि उनी एमालेमा प्रवेश गरे । एमालेमा प्रवेश गर्ने बित्तिकै उनले प्रतिनिधि सभा जस्तो महत्वपूर्ण ठाउँमा टिकट पाए । यसबाट २०४६ सालदेखि एमालेमा संघर्ष गर्दै सल्यान एमालेका नेताहरु जिल्लै परेका छन् । 

भक्तपुर २ का दुई वटै प्रदेश सभा एमालेबाट चुनाव लडेका किरन थापा र चन्दकृष्ण श्रेष्ठ पूर्व रापपाका हुन् । श्रेष्ठ राप्रपा भक्तपुरको अध्यक्षसमेत भएका थिए । यसैगरी किरन पनि जिल्ला तहका राप्रपाका नेता हुन् । 

यसैगरी काभ्रे १ मा प्रतिनिधि सभामा एमालेबाट टिकट पाएका रेशम लामा पनि पूर्व राप्रपा हुन् । उनी काभ्रे राप्रपाका नेता हुन् । 

दाङ ३ मा एमालेबाट टिकट पाएकी कोमल वली यसअघि राप्रपा केन्द्रीय सदस्य थिइन् । राप्रपा विभाजित भएको बेला उनले कमल थापालाई साथ दिएकी थिइन् । 

यसबाट पार्टीको लागि दुःख पाएका र त्याग गरेका दाङ एमालेका नेता तथा कार्यकर्ताहरुमाथि ठूलो अपमान भएको छ । 

यसको परिणाम स्वरुप अहिले कोमल वलीसँग प्रचारमा हिँड्न दाङ एमालेका पुराना नेताहरू अप्ठेरो मान्ने गरेका छन् । 

कपिलबस्तु ३ मा एमालेबाट चुनाव लडेका मंगलप्रसाद गुप्ता राप्रपा मात्र होइन सबै पार्टी चाहरेर हालसालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमालेमा आएपछि उनले टिकट पाएका छन् । 

ओलीले झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा बाँकेमा राप्रापाका महामन्त्री धवलशमशेर राणालाई पार्टीगत रुपमै सहयोग गरेका छन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह नै दिएर मकवानपुरमा चुुनाव लडाएका छन् । थापा अहिले खाँटी गणतन्त्रवादी भएका छन् । अहिले उनले एमालेका मकवापुरका कार्यकर्ताहरुलाई माक्सवादी, लेनिनवाद र गणतन्त्रको विषय सिकाउने गरेका छन् । 

ओलीले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सूचीमा दोश्रो नम्बरमा राखेका छन् । ढकाल जसरी पनि समानुपातिकमा परुन् भन्ने उद्धेश्यले उनलाई दोश्रो नम्बरमा राखिएको छ । ढकालले यसअघि नेपालमा होलीवाइन कार्यक्रमको आयोजना गरेका थिए ।  

तर अझै पनि ढकालले आफूलाई परिवार दलको अध्यक्ष भनेर प्रचार गर्ने गरेका छन् । परिवार दलको अध्यक्षको नामबाट ढकालले कार्यक्रम गर्ने गरेका छन् । 

यसैगरी थापाले आफूलाई राप्रपा नेपालको अध्यक्ष भनेर चिनाउने गरेका छन् । थापाले आफ्नै कार्यकर्ताहरुमाथि बेइमानी गरेका छन् । आफूले एमालेको चिन्ह लिएर चुनाव लडेका छन् । तर कार्यकर्ताहरुलाई तीर चिन्हबाट चुनाव लडाएका छन् । 

यसैगरी ओलीले छानी छानी पूर्व लोसपाका नेताहरुलाई अवसर दिएका छन् । २०७४ को निर्वाचनमा लोसपाबाट सांसद भएका अमृता अग्रहरी, तथ रानी मण्डललाई ओलीले यसपटक समानुपातिक सूचीमै राखेका छन् । 

इकबाल मियाँलाई बारामा प्रतिनिधि सभामा टिकट दिएका छन् । यसैगरी उमाशंकर अरगरैयालाई धनुषामा टिकट दिएका छन् । 

यसरी ओलीले नयाँ प्रवेशीलाई छानी छानी सांसद बन्ने बाटोमा अवसर दिएपछि पार्टीलाई योगदान गरेका कटिबद्ध एमालेहरु भने रुष्ट भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ