arrow

विश्वप्रकाश ढुक्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
bishwa-prakash-sharma-nc-election-2079.jpg

झापा । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । 

चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले-राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका छन् । उनीहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा छन् । यो पटक गठबन्धनको साथ पाएका उनी चुनाव जित्नेमा ढुक्क छन् । 

 संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा अहोरात्र खटिएका छन् । विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता भए । विसं २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री छन् ।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा-१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै छन् । “जनताले स-साना कुरा खोजिरहेका छन्”, उनले भने, “त्यसैले हामी गर्न सक्ने कुरामात्र गर्छौँ, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौँ ।”

पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गरेका छन् ।

 एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा-२ भए पनि झापामा इन्ट्री गरेका छन् । एमाले-राप्रपा तालमेलका उम्मेदवार खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको भएको बताए । “जनताको समस्या मेरो समस्या हो”, उनले भने, “मैले ती समस्या बुझेको छु ।” 

 विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहेका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुन् भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज छन् । उनी कानुनको ज्ञातासमेत मानिन्छन् ।

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन् । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक-वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन् भने एमाले-राप्रपा तालमेलअन्तर्गत खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल छन् । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ